जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका र आसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।
पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरारोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाक्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको जानकारी दिनुभयो ।
सार्वजनिक सम्पत्तिमा तोडफोड, ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भङ्ग हुन सक्ने भएकाले भेला गर्न, सभा समारोह गर्न, जुलुस, र्याली गर्न र हिँडडुल गर्न समेत नपाइने आदेशमा भनिएको छ ।
सामाजिक सञ्जालमा लेखिएको प्रतिक्रियापछि मुस्लिम समुदायले असोज १४ गते गरेको विरोध प्रदर्शनपछिको परिस्थिति र ॐकार समाज हिन्दु परिवारले निकाले मङ्गलबार प्रदर्शन गरेको र्यालीको क्रममा विवाद भई तोडफोड, सार्वजनिक सम्पत्तिमा क्षति पुगेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
यसअघि आज बिहान नेपालगञ्जमा हिन्दु, मुस्लिम धर्मगुरुसहितको उपस्थितिमा शान्ति र सद्भावको अपिलसहित सद्भाव र्यालीको आयोजना गरिएको थियो ।
Discussion about this post