सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि विधि पूर्वक सुरु भएको छ ।
नेपाल र भारतमा पवित्र ‘जितिया पर्व’नुहाएर खानु विधि गर्दै आजदेखि सुरु भएको हो । व्रत बस्नु अघि आजको दिन व्रती महिलाले नदी, तलाऊ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।
त्यसैगरी शुक्रबार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी शनिबार बिहान साढे १० बजेपछि मात्रै व्रतीले व्रत सम्पन्न गर्ने चलन छ ।
यस पर्वमा व्रतालुले नदी तथा पवित्र पोखरी र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ ।
व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी केराको पातमा प्रसाद चढाउनुपर्छ । देवतालाई चढाएकै मध्येबाट आ–आफ्ना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ ।
व्रतको पहिलो दिन आज पूजापछि माछा खाने चलन छ । यसलाई स्थानीय भाषामा डटकट भनिन्छ । प्रत्येक महिलाले अनिवार्यरुपमा माछा खाने गर्छन् भने प्रत्येक घरमा आजका दिन माछा पाक्छ । त्यसपछि उपवासको क्रम सुरु हुन्छ ।
सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व रहेको छ ।
Discussion about this post