त्रिभुवनविश्वविद्यालय पाटन संयुक्त क्याम्पसका प्राध्यापक डाक्टर राजन प्रसाद पोखरेलले लेख्नुभएको उपन्यास समयको अटोग्राफ बारेमा हामीले चर्चा गर्दैछौं । केहिदिन पहिले विमोचन गरिएको उहाँको उपन्यासको ३४औं खण्डको विषयमा यसमा समेटेका छौँ । जहाँ माओवादी जनयुद्धको समयको चर्चा गरिएको छ । लेखक स्वयं सिन्धुली जिल्ला पुग्दा त्यहाँ रहेका माओवादीलाई कैदी बनाइएका दुई जनाको घटना बिषय समेटिएको छ । उपन्यासबाट जस्ताको तस्तै उतारेका छौँ ।
राजनीतिक कैदीहरुले खचाखच भरिएको सिन्धुली जेलमै हामीले कबि गंगा श्रेष्ठ र सहिद्पुत्री बन्दना सुबेदीलाई भेटेका थियौं । महिला र पुरुषहरुलाई बारेर छुट्टाछुट्टै साघुरो कोठाहरुमा राखिएको रहेछ । गंगा र बन्दना एकार्कालाई प्रेम गर्छन् र क्रान्तिको बाटोमा पछिसम्म संगै हिडिरहने प्रण गरेका छन् भन्ने सुनेको थिए । क्रान्तिको बाटोमा हिडेको यो आदर्श जोडि कार्ल मार्क्स र जेनी मार्क्सजस्तै लेनिन र क्रुप्स्कायजस्तै या माओ र च्यान चिंग जस्तै दृढ भएर क्रान्तिमा लागि रहोस् । दाँते र ब्रेस्टिजस्तै, किट्स र फ्यानी ब्राउन जस्तै र यट्स र मड गन जस्तै एकार्काप्रति असिम चाहत र सिर्जनशीलताको इतिहास बनाउन सफ़ल होउन् भन्ने लाग्यो । बन्दना अलि छिट्टै जेलमुक्त भइछन् । गंगाजीलाई केहि वर्ष जेल सरुवा गर्दै भद्रगोल जेलसम्म पुर्याएछन् । शान्तिवार्ताको बेला नागरिक समाजको दबाबमा गंगाजी पनि जेल मुक्त भए । त्यसबेला सम्ममा उनी नेपालका राम्रै क्रान्तिकारी लेखक भइसकेका थिए । सिन्धुली जनसरकार घोषणाका बेला कार्यक्रममै जनसाधारणको विशाल भेलामा गंगा श्रेष्ठ र बन्दना सुबेदीले बिहे पनि गरेछन् । शान्ति प्रक्रियाको बेला मैले गंगाजीलाई भेटेर भनेको थिए, “क्रान्तिकारी लेखक कबि बन्नसक्नु चानचुने कुरा होइन । क्रान्तिको लाइन नछोड्नु होला ।” हेर्दा निकै राम्री लाग्ने बन्दना र निकै सुन्दर देखिने गंगाजीको जोडीले क्रान्तिमा अझै सुन्दरता थप्नेछन् जस्तो लागेको थियो । तर २०६२/६३ साल पछाडिको लामो शान्ति प्रक्रियाले क्रान्तिकारीहरुलाई कता पुर्यायो कता । क्रान्तिशान्ति छाडेर गंगा र बन्दना अर्कै खाले राजनीति गर्दै छन् भन्ने सुनेको छु ।
Discussion about this post