नेपालको मध्य भागमा अवस्थित थारु राष्ट्रिय संग्रहालय अध्यन केन्द्र डण्डाकाे भाेगाधिकारका लागि सराेकारवालाहरुलाई ज्ञापनपत्र बुझाइएको छ ।
थारु कल्याणकारी सभा, थारु विद्यार्थी समाज, थारु राष्ट्रिय संग्रहालय अध्यन केन्द्र डण्डा, थारु संघ संस्थाहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै भाेगाधिकारकाे माग गरेकाे छ ।
२०६३ सालमा स्वर्गीय खडक बहादुर थनेतको अगुवाईमा स्थापना भएको थारु राष्ट्रिय संग्रहालय डण्डाको थारु समुदायको संस्कार संस्कृति , परम्परा , ऐतिहासिक तथा पुरातात्विक महत्वका सामाग्री संरक्षण गर्ने लक्ष्य राखि काम गर्दै आएको छ । तर संग्रहालय स्थापना भएकाे १७ वर्ष हुँदा समेत थारु राष्ट्रिय संग्रहालय अध्ययन केन्द्रको जग्गाको भोगाधिकार अहिलेसम्म प्राप्त भएकाे छैन ।
कावासोती-१६ डण्डामा पूर्वमा मध्यधिन्दु जिल्ला अस्पताल, पश्चिममा दलित सामुदायिक विकास केन्द्र, उत्तरमा मध्यविन्दु जिल्ला अस्पताल हुँदै पीप्रेनी गाउँ जाने बाटो र दक्षिणमा पूर्व पश्चिम महेन्द्र राजमार्ग चार किल्ला करिव ८ बिघा जग्गामा तारबार गरी थारु समुदायको भाषा, संस्कार, संस्कृति संरक्षण गर्न संग्राहलय तथा अध्ययन केन्द्र स्थापना गरिएको भए पनि जग्गाको भोगाधिकार नपाउदा विभिन्न तहबाट विनियोजित बजेट समेत फ्रिज हुने गरेको र संस्थागत विकासमा बाधा परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संघ, प्रदेश, स्थानीय तह, थारु आयोग, राजनीतिक दल तथा सरोकारवाला सँग तत्काल वन नियमावली २०७९ अनुसार भोगाधिकार प्रक्रिया अगाडी बढाउन विज्ञप्तिमा माग गरिएको हो ।
मुख्यमन्त्रीलाई ज्ञापनपत्र
त्यसैगरी थारु संघ संस्थाहरुले गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । पूर्वी नवलपरासीमा थारु आयोगको कार्यक्रममा उपस्थित हुन पुगेका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्रीले यथासक्य चाडो भोगाधिकारको व्यवस्था गर्ने बताउनुभयो ।
Discussion about this post