चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीले शुल्क फिर्ता माग्दै सुरु गरेको आन्दोलनका कारण चारवटा मेडिकल कलेजको पठनपाठन ठप्प भएको छ । वीरगन्जको नेसनल, कास्कीको गण्डकी, चितवनको चितवन र रूपन्देहीको युनिभर्सल मेडिकल कलेज ठप्प भएका हुन् ।
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा बिहीबार धर्नामा बसेका विद्यार्थी । उनीहरूले आन्दोलन थालेको तीन साताभन्दा बढी भइसकेको छ । नेसनल मेडिकल कलेजमा झन्डै एक महिनादेखि आन्दोलित विद्यार्थीलाई बिहीबार कलेज प्रशासनले ज्यान मार्ने धम्की दिएको छ । धर्नामा बसेकालाई धम्क्याइएको र राति अबेरसम्म छात्रावास प्रवेश गर्न नदिइएको विद्यार्थीले बताएका छन् ।
‘बढी लिएको शुल्क फिर्ता लिन शान्तिपूर्ण धर्ना गर्दा जिउँदै जलाइदिन्छौं भनेर त्रस्त बनाइएको छ,’ एक छात्रले कान्तिपुरसँग टेलिफोनमा भने, ‘धर्नामा गएकाहरूलाई होस्टल छिर्न दिइएको छैन, बाहिरै सडकमा बसेका छौं ।’
७० भन्दा बढी विद्यार्थीलाई सञ्चालक बसरुद्दिन अन्सारीलगायत कलेज प्रशासन पक्षले होस्टलमा पस्न अवरोध गरेको उनीहरूले बताए । विद्यार्थीले मूल प्रवेशद्वारमा धर्ना दिएका थिए । दुई नम्बर गेटबाट होस्टल जान रोकिएको उनीहरूको गुनासो छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
Discussion about this post