दशरथ रङ्गशालामा पत्रकार र सर्वसाधरणमाथि लाठी, लात्ती र मुक्का बर्साउने प्रहरी अधिकारीमाथि छानबिन हुने भएको छ ।महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी शैलेश थापा क्षेत्रीले घटनाको बारेमा भर्खरै जानकारी पाएको भन्दै घटनाबारे छानबिन हुने बताएका हुन् ।शान्ति सुरक्षाको प्रहरी तरिका यही हो भन्ने रातोपाटीको प्रश्नमा डिआइजी थापाले भने ‘मलाई घटनाबारे रिपोर्टिङ भइरहेको छ । घटनामा भएको के हो बुझ्छु र प्रहरी दोषी देखिए उनीहरुलाई कारवाही हुन्छ ।’
फिल्डबाट ती अफिसरलाई फिर्ता बोलाउनु भयो त भन्ने प्रश्नमा उनले भने, ‘अहिले फिर्ता गरेको छैन । बुझेर आवश्यक देखिएमा फिर्ता गर्छु ।’
मङ्गलबार नेपाल र भुटानबीच हुने फुटबलको फाइनल खेल हेर्नका लागि टिकट किन्न रङ्गशाला पुगेका सर्वसाधरणमाथि प्रहरीले लाठीचार्ज गरेको थियो । एक सर्वसाधरणलाई कालीमाटी प्रहरी वृत्तका डिएसपी रुगम कुँवरले लात्तीले हानिरहेका थिए ।
प्रहरीले सर्वसाधरणमाथि गरेको ज्यादतीको तस्विर र भिडियो लिइरहेका नागरिक दैनिकका पत्रकार सुमन चापागाइँमाथि पनि सोह्रखुट्टे प्रहरी वृत्तका डिएसपी सन्तोष सिंह राठौरले मुक्का हानेका छन् ।
राठौरले चापागाईँको मोबाइल खोसी उनीमाथि मुक्का हान्दा चापागाइँको कानमा चोट लागेको छ । उनको राष्ट्रिय खेलकुद परिषद्भित्रको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
Discussion about this post