नेपाल पिछडावर्ग (ओबीसी) महासंघको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।
राजधानीस्थित मधेश मिडिया हाउसमा सम्पन्न पाँचौं महाधिवेशनबाट अध्यक्षमा पुनः गजेन्द्र ठाकुृर सर्वसहमतिले निर्वाचित भएका छन् ।
राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनबाट १३ निर्वाचित र ४ जना मनोनित गरी जम्मा १७ सदस्यीय केन्द्रीय समिति चयन भएको हो ।
कार्यक्रम बोल्दै प्रमुख अतिथि ओझाले पिछडावर्गको माग र अधिकारबारे सरकार गम्भीर हुनुपर्ने बताउँदै आयोगको तर्फबाट आफूले पनि सरकारलाई दबाब दिने प्रतिबद्धता जनाइन् । उनले पिछडावर्गमाथि विभेद र असमानतालाई नहटाई समाजमा परिवर्तन नहुने जिकिर गरिन् ।
पिछडावर्गसँग नेपाल सरकार आठ पटकसम्म गरेको सहमति सम्झौतालाई तुरुन्त कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।
महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि ओझालाई महासंघले १९ बुँदे ज्ञापनपत्रसमेत बुझाएको थियो । ज्ञापनमा रहेका बुँदाहरुप्रति आफू सकारात्मक रहेको र कार्यान्वयन गराउन सरकारलाई सुझाव तथा ध्यानाकर्षण गराउने उनले प्रतिबद्धता व्यक्त गरिन्छ ।
नवनिर्वाचित अध्यक्ष ठाकुरले पिछडिएको समुदाय (ओबीसी) उत्थान विकास समितिलाई सक्रिय बनाई त्यसमा उपाध्यक्षलगायत अन्य सदस्यहरु महासंघको सिफारिसमा नियुक्ति गरिनुपर्ने माग गरेका छन् ।
महासंघ र सरकारबीच भएको सम्झौताहरु यथाशीघ्र कार्यान्वयन नगरिए आफू पुनः आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत अध्यक्ष ठाकुरले दिए ।
संविधान संशोधन गरी भाग ८ को धारा ८४ को बुँदा नं. २ र भाग १४ को धारा १७६ को बुँदा नं. ६ मा राजनीतिक दलहरुले बन्दसूची पठाउँदा पिछडावर्ग (ओबीसी)लाई समावेश गराइनुपर्ने माग गरेका छन् ।
महासंघको नयाँ कार्यसमितिमा उपाध्यक्षद्वय सुरेशचन्द्र यादव र उपेन्द्र प्रसाद चौधरी, महासचिव विन्देश्वरीलाल ठाकुर, सचिवद्वय नरेन्द्र ठाकुर लोहार र अनिता देवी र कोषाध्यक्ष फुलतारन कुमारी रहेका छन् ।
यसैगरी, सदस्यहरुमा रामप्रमोद महतो, रामशिला देवी, मुस्ताक अहमद, प्रीति राय, राजेन्द्र ठाकुर, इलियास हजाम, साजिद हुसैन, जगत पैकरा रहेका छन् ।
त्यस्तै, महाधिवेशन कार्यक्रममा दुई जनालाई सम्मानसमेत गरिएको थियो । महासंघलाई सहयोग गर्ने निर्वाचन समिति अध्यक्ष सुरेश ठाकुर र नाइ संघका अध्यक्ष राजाराम ठाकुरलाई कदरपत्रसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
Discussion about this post