महिला मानव अधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवस २९ नोभेम्बरका दिन, २२ जिल्लाका ८० भन्दा बढी युवा महिला मानव अधिकार रक्षकहरु काठमाण्डौंमा भेला भई, महिलाको मानव अधिकारको संरक्षण र प्रवद्र्धनकालागि समुदाय स्तरमा रहेर युवा महिला मानव अधिकार रक्षकहरुले गरिरहेका कार्यहरुको समिक्षा, भोग्नुपरेको चुनौतिहरुका बारेमा छलफल गरि युवा महिला मानव अधिकार रक्षकहरुको कामको पहिचान, सम्मान र सुरक्षाको ग्यारेण्टी गर्नका लागि ७ बुंदे घोषणापत्र जारी गरी सम्पन्न भएको छ ।
हरेक वर्ष २९ नोभेम्बरलाई महिला मानव अधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवसका रुपमा मनाईदै आईएको छ । समुदायमा मानव अधिकारको संरक्षण र प्रवद्र्धनका लागि कार्य गरिरहेका युवा महिला मानव अधिकार रक्षकहरुको अनुभव, चुनौति तथा सिकाईका विषयमा छलफल गर्ने तथा महिला मानव अधिकार रक्षकहरुको कार्यलाई सुदृढीकरण गर्नका लागि आवश्यक रणनीति तयार गर्ने प्रमुख उद्देश्यका साथ यस परामर्शको आयोजना गरिएको ओरेकका कार्यक्रम संयोजक संजिता तिम्सिनाले बताएकि छिन् ।
परामर्शमा युवा रक्षकहरुले आफुहरु समुदायमा रहेर मानव अधिकार हनन्का घटनाहरुको अभिलेखिकरण, प्रभावितको न्यायका लागि संगठित भएर आवाज उठाईरहेको, हानिकारक परम्परागत अभ्यास, लैगिंक विभेदका विरुद्धमा सचेतनामुलक कार्यहरु गरिएको बताएका थिए । यसरी समुदायमा कार्य गर्ने युवा रक्षकहरुलाई परिवारका सदस्यले महिला भएर नेता जस्तो नबन भन्ने, चारित्रिक रुपमा आरोप लगाउने, जोखिमपुर्ण समुह ः महिला लागुपदार्थ सेवनकर्ता र एचआईभि सक्रमित, यौनकर्मी महिलाहरुसँग काम गरेकै कारण विभिन्न लाल्छनाहरु लगाउने, सरकारले प्रदान गरेको सेवाहरु उपभोग गर्नबाट बञ्चित हुनुपर्ने, पीडकहरुले विभिन्न धम्की दिने, अपागंता भएका व्यक्तिको अधिकारका लागि काम गर्ने रक्षकहरुका लागि अपागंतामैत्री संरचनाहरु नहुँदा आधारभुत सेवाहरु समेत प्राप्त गर्नबाट बञ्चित हुने, युवा महिलाको क्षमतामा सबैले प्रश्न गर्ने लगायतका चुनौतिहरु भोगिरहेको बताएका थिए । युवा महिला मानव अधिकार रक्षकहरुले स्थानीय तहदेखि संघ स्तरसम्म संगठित भएर आफ्ना हक अधिकारका लागि लड्ने र आफ्नो अधिकार सुनिश्चित नभएसम्म अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । ओरेक नेपालले दृष्टि नेपालसँगको समन्वयमा यस परामर्शको आयोजना गरेको थियो भने, परामर्शको सहजीकरण ओरेकका संजिता तिम्सिना र गार्डिका बज्रचार्यले गरेका थिए ।
Discussion about this post