गत मंसिर २९ देखि पुस ६ गतेसम्म चितवनमा चलाइएको अण्डा नष्ट गर्ने अभियान (चिकेन होलिडे) पछि बजारमा कुखुराको मासूको मूल्य आकाशिएको छ ।
चल्ला उत्पादकको आन्दोलनअघि काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो मूल्य २१० रुपैयाँ थियो । अहिले मूल्य बढेर प्रतिकिलो ३ सय ७० रुपैयाँ पुगेको छ ।
१० दिनसम्म चल्ला उत्पादन गर्ने अण्डा नष्ट गर्ने अभियान सञ्चालन गरेपछि मासु व्यवसायीले त्यतिबेलै दुई पटक मूल्य बढाएका थिए ।कुखुराको मासुको मूल्य बढाएर उपभोक्तामा आर्थिक भार थोपर्न चिकेन होलिडे मनाइएको भन्दै सरकारी हस्तक्षेप हुनुपर्ने उपभोक्ता अधिकारकर्मीको माग थियो ।
व्यवसायीले जुन उद्देश्यका लागि चिकेन होलिडे मनाएका थिए अहिले त्यो पूरा भएको छ । एक महिना अवधिमा कुखुराको मासुको मूल्य प्रतिकिलो १६० रुपैयाँले बढेर ३७० रुपैयाँ कायम भएको छ । काठमाडौंको खुद्रा बजारमा मासुको मूल्य त्यो भन्दा पनि धेरै हुनसक्ने बताइएको छ ।
राष्ट्रिय कुखुरा व्यवसायी संघले गत हप्ता तोकेको नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा तयारी मासुको प्रतिकिलो मूल्य ३५० रुपैयाँ छ । जसमा प्रतिकिलो १५ रुपैयाँ नाफा राखेर खुद्रा व्यापारीले उपभोक्तालाई बिक्री गर्दा मासुको उपभोक्ता मूल्य ३६५ रुपैयाँ हुनु पर्ने हो तर अधिकांश स्थानहरुमा ३७० रुपैयाँभन्दा बढीमा मासु खरिद–बिक्री भएको छ ।
फार्मिङ एण्ड एग्रिकल्चर रिसर्च म्यानेजमेन्टले उल्लेख गरेअनुसार काठमाडौंमा तयारी मासुको मूल्य ३१५, पोखरामा ४१०, धनगढीमा २८० र इटहरीमा ३०० रुपैयाँ प्रतिकिलो हो । तर बजारमा यो भन्दा धेरै मूल्यमा मासु बिक्री भईरहेको छ ।
राष्ट्रिय कुखुरा व्यवसायी संघले बजारमा मासुको मागको तुलनामा आपूर्ति नभएका कारण मासुको मूल्य बढेको बताएको छ । वर्षभरिमा कुखुराको मासुको सबैभन्दा बढी माग हुने महिना हो माघ र फागुन । मासु व्यवसायीहरुका अनुसार पिकनिक, बिहे र अन्य कामका लागि अत्यधिक मासुको खपत यो दुई महिनामा हुन्छ । व्यवसायीले यही सिजनको मौका छोप्न चिकेन होलिडेको रणनीति लिएका थिए ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार काठमाडौंमा प्रत्येक दिन तीन लाख किलो तयारी कुखुराको मासुको खपत हुन्छ । एक सय ६० रुपैयाँ मूल्यवृद्धि हुँदा काठमाडौं उपत्यकाबाट मात्रै एक दिनमा ४ करोड ४८ लाख रुपैयाँ कमाउने उपभोक्ता अधिकार संरक्षण मञ्चका अध्यक्ष माधव तिमल्सिना बताउँछन् ।
Discussion about this post