प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छोरीलाई सशक्त बनाउनेप्रति दिएको प्रतिक्रियालाई गलत अर्थ लगाएर प्रचार प्रसार गरेको बताउनुभएको छ ।
समाजिक सञ्जालहरुमा माता सीताको मूर्ति निर्माणको लागि कुराकानी क्रममा प्रदेशका छोरीहरुलाई सशक्त बनाउन आफू कदम चालेको र सशक्त बनाउने भावमै छोरीहरु हावी हुने मात्र भनेको भन्दै त्यसलाई गलत र अर्थको अनर्थ लगाएर प्रचार गरिरहेको बताउनुभएको हो । समाजिक सञ्जालमा राखिएको ती भिडियोको गलत प्रचारप्रति उहाँले अभिव्यक्ति खण्डन गर्नुभएको हो ।
नारी सशक्तिकरणको लागि प्रदेश २ मा सञ्चालनमा रहेको बेटी बढाउ, बेटी बचाउ अभियानको सन्दर्भमा मुख्यमन्त्री राउतले एक भिडियोमा ‘अब छोरीले छोराको मुखमा एसिड खन्याउने अवस्था सृजना गर्दैर्छौं’ भन्नुभएको थियो । तर, त्यस अभिव्यक्तिको भाव त्यो नभई छोरीमाथि हुने विभेद तथा अन्याय अन्त्य गर्नु रहेको मुख्यमन्त्री राउतले स्पष्टोक्ति दिनुभएको छ ।
विहिबार जनकपुरको बाह्रविघामा माता सीताको १ सय ५१ फिटको योद्धारुपी मूर्ति निर्माणको लागि प्रदेश सरकार तयार रहेको तथा सीताझैं प्रदेशका बेटीहरुलाई योद्धा बनाउने भावमा अभिव्यक्ति दिएपछि केही व्यक्तिहरुले त्यसको गलत अर्थ लगाउँदै छोरामाथि अन्याय वा अपराध गरिने भनेर कुप्रचार गरिरहेको स्पष्ट पार्नुभएको छ ।
छोरीमाथि समाजमा विद्यमान रहेको अन्याय, अत्याचारलाई आफ्नै कार्यकालमा परास्त गर्ने भावले त्यो अभिव्यक्ति आउन पुगेको मुख्यमन्त्री राउतले बताउनुभयो । उहाँले आफूले छोरीलाई सशक्त बनाउने विषयमा दिएको अभिव्यक्तिलाई अतिरञ्जीत गर्ने प्रयास गर्नु दुःखद रहेको पनि बताउनुभयो ।
उहाँले आफ्नो फेसबुकमा लेख्नुभएको छ, ‘म हिंसामा विश्वास गर्दिन, मैले छोरीलाई सशक्त बनाउने विषयमा दिएको अभिव्यक्तिलाई अतिरञ्जीत गर्ने प्रयास गर्नु दुःखद हो । यसको म खण्डन गर्दछु ।’
Discussion about this post