जगदिश थापा / काठमाडौं ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय तहाचलबाट वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति नरोकिएको बुझिएको छ । कोरोना प्रभावित देशमा जाने कामदारका लागि श्रम स्वीकृति दिने कार्य स्थगित भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषण भएपछि तहाचल कार्यालयले श्रम स्वीकृति नरोकिएको बताएको हो ।
तहाचाल कार्यालयका प्रमुख उमेश बस्नेतले वैदेशिक रोजगारीमा जाने कामदारका लागि श्रम स्वीकृति दिने कार्य नरोकिएको बताए । उनले भने, “श्रम स्वीकृति रोक्नु भनेर मन्त्रालय या बिभागबाट पनि कुनै पत्र आएको छैन र श्रम स्वीकृति दिने कार्य पनि रोकेका छैनौं ।”
यद्यपि यसबारे सरकारी निरायहरुमा विभिन्न ढंगले छलफल भइरहेको बुझिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग धारणा मागिएको अध्यक्ष विष्णुप्रसाद गैरेले जानकारी दिए । “हामी पनि विभिन्न सरोकारवाला पक्षहरुसँग छलफल गरिरहेका छौं”- अध्यक्ष गैरेले भने , “छलफल पछि संघको धारणा मन्त्रालयलाई दिने छौं ।”
संघका महासचिव सुजित श्रेष्ठले कोरोना भाइरसलाई जोडेर यथार्थ भन्दा हल्ला बढि चलाइएको व्यवसायीहरुले महसुस गरेको बताए । उनले गन्तब्य मुलुकले कामदार नपठाउन् नभनेसम्म नेपालले कामदार पठाउन रोक्न नहुने पक्षमा संघ रहेको जानकारी दिए । महासचिव श्रेष्ठले भने – “सरकारले श्रम स्वीकृति नै रोक्यो भने व्यवसायीले कामदार पठाउने कुरै भएन तर अहिलेलम्न सरकारले श्रम स्वीकृति रोकेको जानकारी छैन ।”
यसैबीच कुवेत सरकारले भने आफ्नो मुलुकमा प्रवेश गर्ने भिसा रोकिसकेको छ । खाडी मुलुक कुवेत पनि नेपाली कामदारको प्रमुख गन्तव्यमा पर्दछ ।
Discussion about this post