बारामा एक तथा पर्सा जिल्लामा ३९ जनामा कोरोना सङ्क्रमण देखिएपछि जनजीवनमा सन्त्रास छाएकाे छ । बारा र पर्सा जिल्लागरी मङ्गलबार थप भएका ४० जना र उपचार गराइरहेका बाराको दुई र पर्साको २९ जना गरी वीरगञ्ज नारायणी अस्पतालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६९ पुगेको छ ।
यसअघि गत वैशाख २४ गते वीरगञ्जमा दुईमहिने शिशुसहित एकै परिवारका १७ जनालाई कोरोना सङ्क्रमण देखिएको थियो । उनीहरूको उपचार नारायणी अस्पतालको आईसोलेसनमा भई रहेको बेला मंगलबार बारा जिल्लामा एक तथा पर्सा जिल्लामा ३९ जना व्यक्तिमा सङ्क्रमण भेटिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनुभयो ।
नयाँ थपिएका सङ्क्रमितमध्ये अधिकांश वीरगञ्ज महानगरपालिका वडा नम्बर–१, २ र ३ का रहेका छन् । बारामा भेटिएका १४ वर्षीय युवा वीरगञ्जको ईनर्वामा रहेका पसलमा काम गर्दैआएका थिए । उनको घर बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुर टोलमा रहेकाले टोलमा प्रहरीको निगरानी बढाइएको बाराका प्रहरी उपरीक्षक कृष्णकुमार पंगेनीले बताउनुभयो ।
कोरोना सङ्क्रमित युवाका परिवारको सबै सदस्यलाई विश्रामपुरको क्वारेन्टाईनमा आजैदेखि राखिएको छ । नयाँ थप सङ्क्रमित देखिएकालाई नारायणी अस्पतालको आईसोलेसनमा ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।
वीरगञ्जमा ठूलो सङ्ख्यामा एक साथ सङ्क्रमित भेटिएपछि सर्वसाधारणलगायत स्थानीय, उद्योगी व्यवसायी, सञ्चारकर्मीमा चौतर्फी सन्त्रास छाएको छ । आज दिउँसोदेखि कलैया तथा वीरगञ्ज बजारमासमेत चहलपहलमा कमी आएको छ ।
Discussion about this post