त्रिभुवन विश्वविद्यालयको आर्थिक वर्ष २०८१÷८२ को बजेट निर्माणको पूर्वसन्ध्यामा जेठ २२ देखि २५ सम्म त्रिविका उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले देशको सुदूरपश्चिम र कर्णाली प्रदेशमा सञ्चालित त्रिविका आङ्गिक क्याम्पस तथा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको वस्तुस्थिति अध्ययन भ्रमण गर्नुभएको छ । प्रदेशमा कार्यरत त्रिवि निकायहरूको वस्तुगत अवस्थाबारे फरक–फरक स्रोतबाट फरक–फरक रिपोर्टिङ आउने सम्भावनालाई ध्यानमा राख्दै उपकुलपतिले आफैं उपस्थित भएर तिनको शैक्षिक, प्रशासनिक तथा भौतिक अवस्थाबारे स्थलगत जानकारी लिनुभएको थियो ।
जेठ २२ मा उपकुलपति बरालले त्रिविका आङ्गिक र सम्बन्धनप्राप्त गरी करीब ७५ वटा क्याम्पस हेरिरहेको सुदूरपश्चिम क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, अत्तरियाको भ्रमण गरी केन्द्रीकृत परीक्षा प्रणालीलाई विकेन्द्रीकरण गर्दै लैजाने त्रिविको नीति के–कति लागू भएको छ र कार्यान्वयनका क्रममा के–कस्ता कठिनाइ आएका छन् भन्नेबारे विस्तृत जानकारी लिनुभयो । सो अवसरमा कार्यालयका सह–परीक्षा नियन्त्रक डा. ताराप्रसाद अवस्थीले उपकुलपतिलाई स्थानीय सरकारले उपलब्ध गराएको सानो भवनमा सञ्चालित कार्यालयमा पर्याप्त फर्निचर र कम्प्युटर तथा बैठककक्षको लागि ठाउँ नभएको जानकारी दिनुभयो । उपकुलपतिले दूरदराजका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसका विद्यार्थीलाई परीक्षासँग सम्बन्धित सेवा सहज ढङ्गले उपलब्ध गराउन सूचना प्रविधिमा आधारित कार्यप्रणाली अङ्गीकार गर्दै सेवाप्रवाहमा सुधार गर्नुपर्ने स्पष्ट गर्नुभयो ।
जेठ २२ कै दिन उपकुलपतिले सुदूरपश्चिमको एकमात्र विज्ञान क्याम्पस सिद्धनाथ विज्ञान क्याम्पसमा पुगेर त्यहाँका शिक्षक–कर्मचारी र विद्यार्थीहरूसँग साक्षात्कार गरी क्याम्पसको वस्तुस्थितिबारे करीब दुई घण्टा छलफल गर्नुभयो । भ्रमण टोलीले क्याम्पसमा यथेष्ट भौतिक संरचना भए तापनि तिनको उचित स्याहार–सम्भार नभएकाले भवनहरू जीर्ण हुँदैगएको पाएको थियो ।
भेटघाटको क्रममा सिद्धनाथ क्याम्पसका क्याम्पस प्रमुख डा. गजराज दमाईले जनरल साइन्सका अतिरिक्त साइन्सका अन्य कार्यक्रमको माग गर्दै शिक्षक–कर्मचारीको अभावको पनि जानकारी दिनुभयो । क्यम्पसका विद्यार्थी समूहहरूले बीमा, छात्रवृत्ति, शैक्षिक भ्रमण, छात्रावास भवन, विद्यार्थीको स्थानान्तरण र सुरक्षासँग सम्बन्धित समस्याहरू उठाए ।
जेठ २४ गते उपकुलपतिले सुदूरपश्चिम प्रदेशकै डडेलधुराको सदरमुकाम अमरगढीस्थित डडेलधुरा क्याम्पसको वस्तुस्थितिबारे जानकारी लिनुभयो । क्याम्पस प्रमुख गंगादत्त उप्रेतीले उपकुलपतिलाई क्याम्पसमा निर्माणाधीन ५० जनाको क्षमता भएको महिला छात्रावास भवन देखाउनु भयो । भवन निरीक्षणको लगत्तै आयोजित अनौपचारिक छलफलमा क्याम्पसले विगतदेखि वर्तमानसम्म भोग्दै–अनुभव गर्दै आएको उतार–चढावको सिंहावलोकन गरियो । उपकुलपतिले छलफलको क्रममा क्याम्पसको साझा समस्याको रूपमा उठेको विद्यार्थी ड्रप–आउटको समस्यालाई सम्बोधन गर्न पाठ्यक्रममा समयानुकुल सुधार गर्नुपर्ने र बजारको माग अनुसारका कार्यक्रम शुरू गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
डडेलधुरा क्याम्पसमा भएको भेटघाटको अवसरमा उपकुलपति बरालले सुदूरपश्चिम विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालय, केन्द्रीय कार्यालयको जानकारी विना त्रिविको ८४ रोपनी जग्गा क्याबिनेटबाट निर्णय गराई आफ्नो मेडिकल कलेज खोल्न ४० वर्षका लागि लिजमा लिएर उपभोग गरिरहेको विषयमा पनि विस्तृत जानकारी लिनुभयो ।
उपकुलपति बराल जेठ २४ कै दिन दिपायल–सिलगढीस्थित डोटी बहुमुखी क्याम्पस पुग्नुभयो । उपकुलपतिलाई प्रदेश सरकारको सहयोगमा क्याम्पसमा नवनिर्मित तीनवटा भवन देखाउँदै क्याम्पस प्रमुख दिलानन्द जोशीले यी भवनको निर्माणपछि भौतिक रूपमा सम्पन्न भएको क्याम्पस मानव स्रोतसाधनमा भने दयनीय अवस्थामा रहेको जानकारी दिनुभयो । भ्रमणको क्रममा उपकुलपतिले स्थानीय नगरपालिकाले उपलब्ध गराएको प्रस्तावित इञ्जिनियरिङ अध्ययन संस्थान खप्तड क्याम्पसको १२५ रोपनी जग्गा पनि अवलोकन गर्नुभयो ।
जेठ २५ गते उपकुलपति बरालले कर्णालीको जुम्लास्थित परम्परागत काठेभवन र आधुनिक भवनको समिश्रण रहेको जुम्ला क्याम्पसमा एक औपचारीक कार्यक्रमका वीच उपकुलपति बरालले नवनिर्मित पुस्तकालय भवनको उद्घाटन गर्नुभयो । कार्यक्रमको सभापतित्व क्याम्पस प्रमुख डा. ओम प्रकाश आचार्य र प्रमुख अतिथिको रुपमा उपकुलपति बराल रहनु भएको सो कार्यक्रममा क्याम्पसका शिक्षक, विद्यार्थी र कर्मचारीहरुको उपस्थिति रहेको थियो । सो पुस्तकालय भवनको उद्घाटनको क्रममा सो पुस्तकालयलाई डिजिटलाइज र ई लाइब्ररीमा विकास गर्दै लैजाने योजना रहेको तथा क्याम्पसमा विद्यमान विभिन्न उपलब्धी तथा कमिकमजोरीका बारेमा विभिन्न बक्ताहरुले ब्यक्त गर्नुभएको थियो ।
उपकुलपति बरालको भ्रमणको अन्तिम गन्तव्य थियो— सुर्खेत बहुमुखी क्याम्पस । यो क्याम्पस सुर्खेतको वीरेन्द्रनगरमा शुरूमा शिक्षा क्याम्पसबाट सञ्चालन भएर बहुमुखी क्याम्पसमा रूपान्तरण भएको थियो । क्याम्पस प्रमुख माधवप्रसाद खनालले विभिन्न समस्याहरूबीच क्याम्पसलाई बहुमुखी रूपमा विकास गर्न मानवीय स्रोतसाधन जुटाउनु पर्ने र क्याम्पसको जग्गा पर्खाल लगाएर संरक्षण गर्नुपर्ने कुरा राख्नुभयो । भ्रमणको क्रममा क्याम्पसले करीब सात विघा जग्गा आफ्नो नाममा ल्याउन नसक्दा ३०–४० घर सुकुम्बासीलगायत् अन्य केही व्यक्तिहरूको अतिक्रमणमा परेको कुरा पनि गम्भीर रूपमा उठेको थियो ।
सुदूरपश्चिम र कर्णाली प्रदेशस्थित त्रिविका आङ्गिक क्याम्पस तथा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयको वस्तुस्थिति अध्ययन भ्रमणको क्रममा उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले सबैजसो निकायमा एकैखालका समस्याहरू पाएको अनुभव गर्नुभएको छ । “तर, कार्यालयमा बस्दा र फिल्डमा आउँदा समस्याको बुझाइमा आकाश–जमिनको फरक हुँदोरहेछ”, उहाँले भन्नुभयो, “स्थानीय स्तरका धेरैजसो समस्या सेवा आयोग चलायमान नहुनु र शैक्षिक क्यालेण्डर यथासमयमा कार्यान्वयन नहुनुजस्ता हाम्रा दुई ठूला समस्यासँग सम्बन्धित छन् । यसबाहेक यथेष्ट भौतिक संरचना, जग्गाजमिन भएर पनि हामीले त्यसको सदुपयोग गर्नसकेका छैनौं । विद्यार्थी ड्रप–आउटको समस्या हामीले बजारको मागअनुसारका पाठ्यक्रम र कार्यक्रमहरूमा पर्याप्त ध्यान दिन नसकेर आएको हो ।”
उपकुलपति बरालले यहाँ देखिएका समस्यामा अहिले नै निर्णय गर्ने अवस्थामा नपुगेको तर उचित प्राथमिकताका साथ सम्बोधन गर्ने पनि स्पष्ट गर्नुभयो ।
Discussion about this post