‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मा क्रिकेटका दिपेन्द्रसिंह ऐरी र कबड्डीकी जयन्ती बडू सर्वोकृष्ट खेलाडी घोषणा भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीका आयोजना, सुदूरपश्चिमाञ्चल एकेडेमीको प्रायोजन र सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको मुख्य प्रबद्र्धनमा भएको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका ऐरी र कबड्डीकी बडू सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
क्रिकेटका ऐरीसँगै भलिबलका टेकराज अवस्थी र भारात्तोलनका सागर भण्डारी वर्ष पुरुष खेलाडीको मनोनयनमा परेका थिए । कबड्डीकी बडुसँगै वर्ष खेलाडी महिलाको मनोनयनमा क्रिकेटकी कविता जोशी र भलिबलकी निरुता ठगुन्ना परेकी थिइन् । यो विधाका उत्कृष्ट खेलाडी पुरुष र महिलाले ३५÷३५ हजार प्राप्त गरेका छन् ।
कबड्डीका बिष्णुदत्त भट्ट वर्ष प्रशिक्षक भएका छन् । वर्ष प्रशिक्षक विधामा भारात्तोलनका जीवन गौतम र एथलेटिक्सका रामचन्द्र जोशी मनोनयनमा परेका थिए । यो विधाका उत्कृष्ट भएका प्रशिक्षकले ३० हजार प्राप्त गरे ।
वर्ष युवा खेलाडी भारात्तोलनका हेमन्त पाल भए । यो विधामा फुटबलका कुशल देउवा र क्रिकेटका आकाश चन्द मनोनयनमा परेका थिए । यो विधाका बिजेताले २५ हजार प्राप्त गरे ।
सुदूरपश्चिम आइकन पुरुष विधामा क्रिकेटका नरेन भट्ट विजेता भएका छन् । यो विधामा एथलेटिक्सका आशिष महर र शारिरीक सुगठनका रञ्जित लामा मनोनयनमा परेका थिए । सुदूरपश्चिम आइकन महिला विधामा एथलेटिक्सकी देवकी धामी बिजेता भएकी छिन् । यो विधामा क्रिकेटकी मनिषा बोहोरा र फुटबलकी विर्सना चौधरी मनोनयनमा परेकी थिईन् । सुदूरपश्चिम आइकन पुरुष र महिला विधाका विजेताले २०÷२० हजार प्राप्त गरेका छन् ।
‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को लाइफटाइम अचिभमेन्ट अवार्ड तेक्वान्दो प्रशिक्षक गोविन्द बिष्टले पाएका छन् । उनले नगद २५ हजार प्राप्त गरे । स्पेशल अवार्ड पौडीका अथर्व सिंह र कराँतेका प्रदीप वैजाली मगरले संयुक्त रुपमा पाए । उनीहरुले जनही साढे १२÷१२ हजार प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकासमन्त्री ओमविक्रम भाट, विशिष्ठ अतिथिद्धय सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकवहादुर सिंह र सुदूरपश्चिमाञ्चल एकेडेमीका प्रबन्ध निर्देशक सुवाश शाही लगायतले बिजेता र मनोनित खेलाडीहरुलाई पुरस्कार वितरण गरे । पाँचौ संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिएको हो ।
अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको थियो । प्रायोजकमा नवजीवन को–अपरेटिभ्स लिमिटेड, ठाकुर एग्रो ईन्डष्ट्रिज, गरिमा पोलिक्लिनिक एण्ड गरिमा डेण्टल, न्यु सिटी पोलिक्लिनिक र सिराज ईन्टरनेशनल रहेका थिए ।
लाईफटाईम अचिभमेन्ट अवार्ड विजेता गोविन्द बिष्ट को हुन् ?
‘गोविन्द गुरु’ अर्थात् गोविन्द बिष्ट । यो नाम नसुन्ने सायदै कमै होलान् । उनले तेक्वान्दो सिकाएका दिपक बिष्टले साफमा लगातार चार स्वर्ण पदकको किर्तिमानसँगै दिपकको ओलम्पिकसम्मको यात्रामा हासिल गरेका उपलब्धीहरुसँगै जोडिएर सधैं आउने नाम हो तेक्वान्दो प्रशिक्षक गोविन्द बिष्टको । चार दशक लामोसमयदेखि खेलकुदमा होमिएका प्रशिक्षक बिष्ट अहिले पनि खेलाडी प्रशिक्षणको कर्ममा लागिनैरहेका छन् । जीन्दगीको उदारचढावले शारिरीक समस्या ल्याएपनि चार दशकदेखि गरिरहेको कर्मलाई विश्रामा दिएका छैनन् गोविन्द विष्टले ।
उनकै प्रशिक्षणबाट अब्बल खेलाडी बन्न सफल धेरैले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक जितेर देशको नाम चिनाएका छन् । चार पटक तेक्वान्दोको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाललाई स्वर्ण पदक जिताउन सफल दीपक बिष्टलाई उनले नै प्रशिक्षण दिएका हुन् । बमबहादुर बम, माया शेर्पा, सन्तराम विक, सुनिल शर्मा, सरोज चौधरी, केशव भट्ट, निलम योञ्जन, दिपक उपाध्याय जस्ता तेक्वान्दोका तत्कालीन राष्ट्रिय खेलाडीलाई पनि उनले नै प्रशिक्षण दिएका थिए । खेलकुदमा लागेर नाम कमाउन सफल भएकोमा उनी गौरव ठान्छन् ।
तेक्वान्दोको राष्ट्रिय प्रतियोगितामा लागतार पाँच स्वर्ण पदक जितेर ‘नेपाल टप’ को सफलतासँगै चर्चा कमाएका गोविन्द बिष्टलाई दिपक बिष्टले हासिल गरेको सफलताले थप उचाईमा पुरायो । २०५२ देखि तेक्वान्दोको प्रशिक्षकका रुपमा कार्यरत रहेका उनी खेलकुदका गतिविधि अपेक्षित रुपमा बढ्न नसक्दा तेक्वान्दोका गतिविधि सुस्ताएकोमा चिन्तित छन् । खेलाडीलाई नियमित प्रशिक्षण गराउन आवश्यक खेल सामाग्रीहरुको अभावले पिरोल्ने गरेको छ ।
उनका धेरै सहकर्मीहरु विदेश पलायन भएका छन् । उनलाई काठमाण्डौंमा पनि प्रशिक्षणका लागि पटक पटक बोलाईएको हो । तर उनले धनगढी छोडेनन् । आफ्नो कर्मलाई निरन्तरता दिईरहेका छन् । खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै नेपाल खेलकुद पत्रकार मञ्च कैलाली प्रदान गर्दछ यस बर्षको लाईफटाईम अचिभमेन्ट अवार्ड ।
स्पेशल अवार्ड विजेता अर्थव सिंह को हुन् ?
खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं प्रतिभालाई पनि उमेरले छेक्दैन रैछ । उमेर जतिसुकै किन नहोस् आफुभन्दा बढी उमेरका र अनुभवी खेलाडीलाई मात दिन सकिन्छ भन्ने पछिल्लो उदाहरण बनेका पौडीका खेलाडी अर्थव सिंह । सुदुरपश्चिम प्रदेशको बझाङका पौडी खेलाडी अर्थव सिंह उमेरले १४ बर्ष मात्रै पुरा गरेका छन तर उनको सफलता लोभलाग्दो छ ।
६ बर्षको उमेरदेखि पौडी खेल्न थालेका सिंहले साढे ९ बर्षको उमेर आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदुरपश्चिम प्रदेशबाट पौडीमा सहभागीता जनाएर सिनियर खेलाडीहरुसँगको प्रतिस्पर्धा थालेका उनले नौ राष्ट्रिय खेलकुद प्रतियोगिता पनि खेले । गत बर्ष भएको अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा पौडीमा उनले सुदुरपश्चिमलाई दिलाएको पदकले उनको चर्चा चुलिएको छ । सुदुरपश्चिम प्रदेशलाई अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले नै व्यक्तीगत रुपमा सबैभन्दा बढी पदक दिलाए । ३ स्वर्ण ७ रजत र एक कास्य गरी ११ पदक दिलाए । पौडीका सर्वोकृष्ट खेलाडी समेत बने ।
अर्थवले नियमित अभ्यास थालेको आठ बर्ष भए पनि पदक जित्न लागेको भने ५ बर्ष पुग्न लागेको छ । ९ बर्षको उमेरदेखि विद्यालय स्तरीय तथा विभिन्न पौडी प्रतियोगितामा आफ्नो छाप छोडीरहेका उनले हालसम्म व्यक्तीगत रुपमा ४३ स्वर्ण २२ रजत र १५ कास्य पदक जितिसकेका छन् । कलिलो उमेरमा देखाएको प्रदर्शनले उनी एक अव्वल पौडी खेलाडी बन्ने सम्भावना छ । सानो उमेरमा आफ्नो खेलले आकर्षित गर्न सकेको अवस्थामा भविष्यमा अझ राम्रो खेलोस भन्नका लागि परिवारले पनि सधैं साथ दिदैं आएको छ । अर्थवको प्रदर्शन देखेर विभागीय टीमले आँखा लगाईसकेका छन् । तर उनका अभिभावकहरु आफ्नो जन्मभुमी सुदुरपश्चिम प्रदेशबाटै छोरालाई राष्टिय प्रतियोगिताको प्रतिस्पर्धामा सहभागीता गराईरहेका छन् । पौडीमा उदाईरहेका अर्थव सिंहलाई उज्जवल भविष्यको कामना गर्दै नेपाल खेलकुद पत्रकार मञ्च कैलाली प्रदान गर्दछ यस बर्षको स्पेशल अवार्ड ।
स्पेशल अवार्ड विजेता प्रदीप वैजाली मगर को हुन् ?
महाकवि लक्ष्मीप्रसाद देवकोटाले ढुंगाको काप फोडेर पनि उम्रिन्छ पिपल भनेझैं क्षमता भयो भने केही कुराले रोक्दैन रैछ । घरमा खान लाउनका लागि समस्या भएपनि आट्ने हो भने सफल भईदो रैछ । यसका ज्वलन्त उदाहरण हुन् कराँते खेलाडी प्रदीप वैजाली मगर ।
२०७२ सालतिर बुबाको निधन भएपछि उनी आमा र दिदीसँगै धनगढी आएर ठेलामा सानो पसल सञ्चालनमा आमालाई सघाउने क्रममा दैनिक रुपमा धनगढी रंगशाला पुग्न थाले । दैनिक रुपमा रंगशाला पुगेर विभिन्न खेलका खेलाडीहरुले खेल हेर्दै गरेका प्रदीप कराँते प्रशिक्षक तथा हालका कैलाली जिल्ला अध्यक्ष सकेत रहेका ललित खत्रीको नजरमा परे । उनको खेल प्रतिको लगाव देखेर कराँते खेल्नलाई खत्रीले हौसला दिए ।
२०७२ सालदेखि कराँते खेल्न थालेका उनले दैनिक रुपमा खेललाई अगाडी बढाउनुका साथै आमालाई ठेला पसलमा सघाउने काम गर्दै आएका थिए । कराँते सिक्न थालेपछि केही गर्नुपर्छ भन्ने हुटहुटीले उनलाई दैनिक जसो सताउने गरेको थियो । विभिन्न प्रतियोगितामा सहभागीता जनाउँदै आएका उनले गत बर्ष भएको सातौं दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै आफुलाई प्रमाणित गरे ।
१२ औं राष्ट्रपति रनिग सिल्डमा कास्य र रजत पदक जित्दै पदकको खडेरी तोडेका उनले त्यसपछि विभिन्न प्रतियोगिताहरु खेल्दै पदक जितिरेहका छन । नौ राष्ट्रिय खेलकुदमा सुदुरपश्चिमलाई कास्य पदक जिताएका प्रदीपले पहिलो अन्तर प्रदेश खेलकुद प्रतियोगितामा सुदुरपश्चिम प्रदेशलाई स्वर्ण दिलाए । गत बर्ष नै भएको एनआरएन कराँते प्रतियोगिता र निकोसमा स्वर्ण पदक जित्दा कृष्णप्रसाद भट्राई स्मृति कराँते प्रतियोगितामा कास्य पदक जिते । खेलकुदमा सक्रियताका साथ लागेका प्रदीप वैजाली मगरलाई नेपाल खेलकुद पत्रकार मञ्च कैलाली प्रदान गर्दछ यस बर्षको स्पेशल अवार्ड ।
Discussion about this post