नेपाल कम्युनिस्ट पार्टी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारबाट बाहिरिएको छ । सो दलबाट सरकारमा सहभागी रहनु भएका सबै ८ जना मन्त्रीले प्रधानमन्त्री प्रचण्ड समक्ष सामुहिक राजीनामा बुझाउनुभएको छ ।
त्यसअघि नेपाल कम्युनिष्ट पार्टी एमालेको अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषदमा रहनुभएका सबैलाई सामूहिक राजीनामा दिन निर्देशन दिनुभएको थियो ।
मंगलबार अध्यक्ष ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले चौबीस घण्टाभित्र पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री दाहाललाई आग्रह गरेको थियो । सो अवधिमा प्रधानमन्त्री प्रचण्ड राजीनामा नदिनु भएपछि एमालेका सबै मन्त्रीहरुले आज अपरान्ह प्रधानमन्त्री प्रचण्ड समक्ष सामुहिक राजीनामा बुझाउनुभएको हो ।
यसअघि पार्टी अध्यक्ष ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रधानमन्त्री प्रचण्डलाई पठाउनु भएको थियो । एमाले मन्त्रीहरूले राजीनामा बुझाउनु भएपनि माओवादी केन्द्रको बैठकले प्रधानमन्त्रीलाई संसद् बैठकमा विश्वासको मत लिन सुझाव दिएको छ ।
Discussion about this post