कैलाली टीकापुरको घटनामा तयार पारिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा थारुले प्रदर्शन गरेका छन् । २०७२ भाद्र ७ गतेको घटना स्मरण गर्दै काठमाडौँमा आयोजित धर्ना कार्यक्रममा उक्त कुरा उठेको हो ।
काठमाडौंको माइतीघरमा आयोजना गरिएको कार्यक्रममा प्लेकार्ड सहित प्रदर्शन गरिएको थियो । थारु आरक्षण कोटा लागु गर, थारुहरुको मुद्दा खारेज गर, सम्पूर्ण थारुहरु एक हौं, थारूसँग भएका सम्झौताहरु कार्यान्वयन गर, थारु स्वायत्त प्रदेशको घोषणा गर, लगायतका विषयहरु समेटेर प्रदर्शनकारीहरुले नाराबाजी गर्दै एक घण्टा धर्ना जुलुस दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिको केन्द्रिय सदस्य आर. के. खम्बुले थारुहरुको मुद्दा तत्काल सम्बोधन गर्नु पर्ने कुरा राख्नु भएको थियो ।
त्यसैगरी पहिचानवादी मोर्चाको तर्फबाट पहिचानवादी मोर्चाको संयोजक प्रा. डा. महेन्द्र लावतीले थारु, आदिवासी जनजाति,महिला, मधेशी, दलितको समस्या समाधान गर्नका निम्ति राज्यसँग भएका सहमतिहरु कार्यान्वयन गर्नका निम्ति सरकार तयार हुनु पर्ने कुरा राख्नु भएको थियो ।
सामाजिक अभियन्ता डा. मित्र परीयारले सम्पूर्ण उत्पीडित जाति वर्ग समुदायका मानिसहरु एक ठाउँ उभिएर मात्र बाहुन सत्ता ढाल्न सक्ने र सबैको साझा राज्य बन्न सक्ने कुरा राख्नुभएको थियो ।
त्यसैगरी थरुहट/थारुवान संयुक्त संघर्ष समितिका केन्द्रीय संयोजक श्रवण थारुले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको थियो । लाल आयोगको प्रतिवेदन सार्वजनिक माग गर्दै उहाँले लाल आयोगको प्रतिवेदनले थारुहरुलाई दोषी देखाए कानुनअनुसार सजायँ भोग्न तयार रहेको बताउनुभयो, यदि लाल आयोगको प्रतिवेदनमा सरकार दोषी देखिएको छ भने तत्काल थारुहरुले न्याय दिनुपर्ने कुरा पनि उहाँले गर्नुभएको थियो ।
त्यसैगरी थारु कल्याणकारी सभाको सल्लाहकार एवं माननिय सभासद रुक्मिणी थारूले थारुहरु सँग भएका विगतका सम्झौताहरू कार्यान्वयन गर्नका लागि सत्ताका सरकार तत्पर नभएको बताउनुभयो सरकारले चाहेको खण्डमा तुरुन्तै यी कामहरु गर्न सक्ने उहाँले बताउनुभएको थियो ।
२०७२ भदौ ७ गते ८ जना प्रहरी र एक नाबालकसहित ९ जनाको ज्यान गएको बीभत्स घटना र त्यसपछि त्यसक्षेत्रमा महिनौँसम्म देखापरेको तनावबारे छानबिन गर्न सरकारले २०७३ साउन २१ मा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगलाई यसबाहेक मधेश आन्दोलनका क्रममा भएका घटना छानबिन गर्ने कार्यादेशसमेत दिइएको थियो। १४ महिना लगाएर आयोगले ७०९ पृष्ठ लामो प्रतिवेदन तयार पार्यो। र, २०७४ मंसिर २९ गते त्यो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो ।
थारु कल्याणकारिणी सभा उपत्यका समितिको अगुवाइमा भएको कार्यक्रममा थरुहट थारुवान, संयुक्त संघर्ष समिति, डाईनामिक युथ सोसाइटी, थारु महिला समाज, र थारु महिला सभा, थारु विद्यार्थी समाज, पहिचानवादी मोर्चा, राष्ट्रिय मुक्ति क्रान्ति, लगायतको संघ संस्थाहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post