नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरुको सरकार भएको बताउनुभएको छ ।
शनिवार काठमाडौं–नुवाकोट सम्पर्क समन्वय समितिको जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरुको सरकार भएको बताउनुभएको हो । उहाँले आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको एकपछि अर्को फाइल खोल्न थालेपछि आफ्नो पालो आउने डरमा तत्कालिन सरकार ढालेर बर्तमान सरकार बनाइएको बताउनु भयो । उहाँले यो सरकार दलाल, पुँजीपतिहरु, बिचौलियाहरु, कमिसनखोरहरु, जालि, फटाहाहरुको प्रतिनिधिको रुपमा रहेको बताउनु भयो । उहाँले आफू समातिने हुँ कि भनेर भ्रष्टाचारीहरुमा पैदा भएको डरका कारण यो सरकार बनेको बताउनु भयो । उहाँले भ्रष्टाचारीहरुको रक्षाको निम्ति यो सरकार बनेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘जब हामीले भ्रष्टाचारको विरुद्ध एकपछि अर्को फाइल खोल्दै गयौँ । जब हामीले सुशासनको पक्षमा आफ्नो अभियान अगाडी बढाउँदै लग्यौँ । जब हामीले सामाजिक न्यायको पक्षमा, उत्पीडित वर्ग, समुदायको पक्षमा अगाडी बढाउँदै लग्यौँ । आर्थिक संकट समाधान गर्नको निम्ति एकपछि अर्को निर्णय गरेर आर्थिक समस्याको समाधान गर्दै लग्यौ । तब यो देशका दलालहरु, बिचौलियाहरुमा छटपटी पैदा भयो । तिनीहरु भित्र आतंक पैदा भयो । माओवादी ३२ सिटको भएर पनि हामीलाई चुनौती दिइराखेको छ । हाम्रो वर्गलाई । दलाल पुँजिपतिहरुलाई चुनौती दिएको छ माओवादीले । नोकरशाहहरुलाई चुनौती दिएको छ । सामन्त र निरंकुशतावादीहरुलाई चुनौती दिएको छ भनेपछि ति विचौलियाहरु र त्यो दलाल पुँजिपति र नोकरशाही पँुजिपति वर्गहरु आतंकित भए । त्यसकारण उनीहरुले हरहालतमा यो सरकारलाई हटाउनै पर्छ भनेर यो तपाईहरुले देख्दाखेरी त नेपाली काँग्रेस र एमाले नेताहरुले मिटिङ गरेर माओवादी नेतृत्वको सरकार हटाए भन्ने देखिन्छ रुपमा । सार चाहीँ यो देशका दलाल, पुँजीपतिहरु, बिचौलियाहरु, कमिशनखोरहरु, जालि, फटाहाहरुले तिनीहरुलाई आफ्नो प्रतिनिधिको रुपमा सिङ्गारपट्टार गरेर यो सरकार बनाइएको हो । त्यसकारण यो भ्रष्टाचारीहरुकै सरकार हो । यो भ्रष्टाचारीहरुकै रक्षाको निम्ति बनाइएकै सरकार हो । भ्रष्टाचारीहरुमा पैदा भएको डरका कारणले यो सरकार बन्यो । त्यसकारण यो सरकारलाई भन्न सकिन्छ, डर छेरुवाहरुको सरकार हो । जब केही फरार अभियुक्तहरु गिरफ्तार भए । उनीहरुमा खैलाबैला मच्चिए । अब हाम्रो पालो पनि आउनै लाग्यो भन्ने ठानेपछि मात्रै यो सरकार बनेको हुनाले यो भ्रष्ट, डर छेरुवाहरुकै सरकार हो । यो भन्न केही डराउनुपर्ने आवश्यकता छैन ।’
अध्यक्ष दाहालले सरकारसँग भएको दुई तिहाईले केही नगर्ने बताउनु भयो । जनताको आकांक्षा र जनभावना विपरित गएमा दुई तिहाई बहुमतलाई जनताले ठेगान लगाइदिने उहाँको भनाई छ । उहाँले अहिले उत्पीडित जनताले पाएको अधिकारहरु माओवादीले ल्याएको भन्दै दुई तिहाइवालाहरुले दिएको अधिकार नभएको बताउनु भयो । उहाँले आफूहरुले संविधान संशोधन गरेर नेपाललाई पछाडी फर्काउन नदिने बताउनु भयो । उहाँले आफूहरु जीवित हुँदासम्म दुनियाँको कुनै तागतले पनि संविधान संशोधन गर्न नसक्ने दाबी गर्नुभयो । अध्यक्ष दाहालले माओवादी केन्द्रलाई कसैले फुटाउन नसक्ने बताउनु भयो । उहाँले फुटेर गएका माओवादी शक्तिहरुपनि एकतावद्ध हुने प्रक्रियामा रहेको उल्लेख गर्दै छिट्टै एकतावद्ध भइसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘उनीहरुको दुई तिहाइले केही गर्नेवाला छैन । बंगलादेशमा भर्खरै एउटा घटना आयो । ५÷७ महिना अघि शेख हसिनाको पार्टीले एक्लै दुई तिहाइ बहुमत ल्याएको थियो । के ग¥यो दुई तिहाइ बहुमतले ? केही गर्दैन । जनताको इच्छा, जनताको आकांक्षा, जनभावना विपरित गयो भने त्यस्ता दुई तिहाइ बहुमत जनताले ठेगान लगाउँछन् । जनयुद्धलाई दमन गर्नेबेला दुई तिहाइ थियो नि तपाईहरुको । सक्नुभयो जनयुद्धलाई दमन गर्न ? सक्नुभएन । म कुनै आवेगमा भन्दै छैन । म आम नेपाली जनतासँग, नेपालका सबै उत्पीडित, मजदुर, किसान, महिला, दलित, आदिबासी, जनजाति, मधेसी, थारु, मुस्लिम सबैसँग । किनकी तपाईहरुले अहिले जे–जति अधिकार प्राप्त गर्नुभएको छ । त्यो ३२ सिटेकै कारण प्राप्त गर्नुभएको हो । दुई तिहाइवालाले दिएको होइन । अहिले दुई तिहाइको धम्कि दिनेहरुले ल्याएको परिवर्तन होइन । खबरदार जालि, फटाहाहरु, संविधान संशोधन गर्ने रे । पछाडी फर्काउने रे नेपाललाई । असम्भव । जबसम्म हामी यहाँ जिवित छौँ, दुनियाँको कुनै तागतले यसलाई परिवर्तन गर्न सक्दैन । हाम्रो तीनवटा प्रदेशको बैठक सकियो । म तात्तातो तपाईहरुलाई भन्दैछु । कसैले हाम्रो पार्टी फुटाउन सक्दैन । हिल्याउन सक्दैन । बरु हेर्नुहोला, केही समयपछि फुटेर गएका बाँकी रहेका माओवादीहरु पनि एकतावद्ध हुन्छन् । माओवादी आन्दोलन एकतावद्ध गरेर हामी अगाडी बढ्छौँ । यही हाम्रो लक्ष्य हो । हाम्रो पार्टी फुटाउने षड्यन्त्र त प्रतिक्रियावादीहरुले जनयुद्धका बेला पनि गरे । पछि पनि गरेकै हुन् । केही साथीहरु विभाजित भएर जानु पनि भएको हो । धेरैजसो फर्केर हामी एकतावद्ध भयौँ । बाँकी रहेकासँग पनि एकता, वार्ता चलिराखेको छ । छिट्टै हामी एकतावद्ध हुने प्रयासमा अगाडी बढिराखेका छौँ ।’
उहाँले जनताको घर–आँगनमा गए २०६४ सालको जस्तै मत ल्याउन सकिने भन्दै आगामी निर्वाचनमा माओवादी केन्द्रलाई सबैभन्दा ठूलो दल बनाउनेगरी लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
Discussion about this post