प्रतिनिधि सभाका सांसदहरुले जमिन बाँझो राख्नेहरुलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनीहरुले खेतीयोग्य जमिन बाँझो २ वर्षसम्म राख्ने कारबाही हुने कानूनी व्यवस्था कार्यान्वयनमा लैजान सरकारलाई सचेत गराएका हुन् । सरकारको नेतृत्व गरिरहेको एमालेकी सांसद सरस्वती सुब्बाले युरोप र अमेरिकामा पनि खेतीयोग्य जमिन बाँझो राख्नेलाई कारबाही गर्ने चलन रहेकाले सरकारले पनि कानूनसम्मत ढंगले त्यस्ता व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउन दबाब दिनुभयो । उहाँले शैक्षिक विदामा बस्ने तर अरु पेशा, व्यवसाय गर्ने कर्मचारीमाथि निगरानी राख्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।
सांसद सुब्बाले भन्नुभयो, ‘किसान परिचय पत्रमा हामीले जोड दिनुपर्नेछ । र यो कर्मचारीहरु कम भए । देश संघीय संरचनामा भईसकेपछि प्रदेश र स्थानीय तहमा जानुपर्ने । यहाँ कम भयो भन्ने कुरा छ । कर्मचारीहरुले शैक्षिक विदा लिएर पढने जाने कुरा चाहीँ धेरै छ । पढ्न हुँदैन भन्नेकुरा होइन । तर के हो भने काम नै बाँकि राखेर शैक्षिक विदा लिएर विदेश पढन जाने । र उसले अरु काम पनि गरिरहने । कर्मचारीहरुलाई शैक्षिक विदा लिएर पढन जाने कुरामा चाँही मन्त्रालयले बढि विचार गर्नुपर्छ । र अर्को कृषि मन्त्रालय र भूमि सुधार मन्त्रालयको समन्वयमा २ वर्ष भन्दा बढि जग्गा बाँझो राख्नेलाई कारबाही पनि त गर्नुप¥यो नि । युरोप, अमेरिकामा पनि खेती नगर्नेलाई कारबाही गर्ने चलन हुन्छ नि । त्यसमा पनि सरकारले ध्यान दिनुपर्छ ।’
यता, प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) की सांसदद्वय रुपा सो. शी (चौधरी) र मिना तामाङले भूमिहीनहरुलाई पनि लोन लिएर व्यवसायिक खेती गर्ने परिपाटीको विकास गर्न सरकारलाई सचेत गराउनु भयो । सांसद चौधरीले सबै भन्सारहरुमा खाद्यवस्तुहरु चोरी पैठारी हुन नदिनका लागि क्वारेन्टाईनको व्यवस्था गर्ने काममा पनि सरकारले ढिलाई गर्न नहुने बताउनु भयो ।
सांसद चौधरीले भन्नुभयो, ‘जमिन नहुनेहरुलाई पनि लोन दिने व्यवस्थाको खोजी गर्नुपर्दछ । के धितो राखेर उनीहरुले लोन लिएर व्यवसायिक खेती गर्ने ? यो समस्या छ । यसमा मन्त्रालयले अरु पनि उपायको खोजी गर्नुपर्दछ । जहाँ भन्सार छ, त्यहाँ क्वारेन्टाईन राखौं । प्लान्ट क्वारेन्टाईन । त्यसपछि पशुपंक्षीलगायतका लागि पनि त्यो राख्नुपर्दछ । नत्र त्यसको कामै छैन भन्ने विषयमा हाउसमा पनि बोलेको थिए । नेपालले निर्यात गर्दैन, आयात नै गर्छ । तर त्यो पनि इन्ट्रि भएर आएको देखिएन धेरैजसो । त्यसकारण चोरीपैठारी भईरहेको छ भन्ने पुष्टि हुन्छ । त्यो गर्दा एकातिर राज्यलाई घाटा ।’
अर्की सांसद मिना तामाङले कृषिका लागि आउने गैरसरकार संस्थाहरुको बजेट नतिजामुखि काममा परिचालन गर्ने कुरामा ध्यान दिन सरकारलाई सुझाव दिनुभयो । उहाँले कृषि उपजहरुको संकलन र वितरणको व्यवस्था सबै प्रदेशहरुमा हुनुपर्नेमा पनि जोड दिनुभयो ।
सांसद तामाङले भन्नुभयो, मिना तामाङ, माओवादी केन्द्र‘एनजिओहरुबाट थुप्रै बजेट आउने गरेको छ । तर वितरण प्रणालीलाई हेर्ने हो भने कसले जिम्मा लिने भन्ने नै समस्या छ । प्रदेश, स्थानीय र संघले लिने जिम्मेवारी स्पष्ट बाँडफाँड हुनुपर्छ । यो बजेटलाई परिणाममुखि बनाउन पनि सरकारले विशेष ध्यान दिनुपर्ने हुन्छ । ’
सांसद तामाङले नेपालमा उत्पादन हुने खाद्य वस्तुहरुको एकीन तथ्यांक सार्वजनिक गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।
Discussion about this post