यस वर्ष सयपत्री फूलको माग १४ दशमलव २९ प्रतिशत वृद्धि भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङका अनुसार अघिल्लो वर्ष तिहारमा करिब ३५ लाख व्यावसायिक सयपत्री फूलको खपत भएको थियो ।
उहाँका अनुसार तिहारमा लगभग ४० प्रतिशत फूल नपुग हुने भएकाले सो फूल विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । उहाँले भन्नुभयो, “यो वर्ष असोजमा आएको बाढीका कारण उत्पादन कम छ । झन्डै ४० प्रतिशत जति फूल नपुग हुने देखिन्छ । यसपालि अलिकति महँगो हुने पनि देखिन्छ ।”
सयपत्री फूलको बढ्दो माग
असोज ११ र १२ गतेको अविरल वर्षाका कारण यो वर्ष सयपत्री बालीमा धेरै क्षति पुर्याएको हुँदा आन्तरिक आपूर्तिमा कमी आएको छ । यो वर्ष सयपत्री फूलको माला ४० लाख, मखमली माला चार लाख ७५ हजार, गोदावरी २० हजार र मिक्स माला ३० हजार गरी जम्मा ४५ लाख २५ हजार व्यावसायिक रूपमा खेती गरिएको फूलको माला खपत हुनेछ । उहाँका अनुसार यस आँकडामा घरायसी प्रयोजनका लागि गरिएको खेतीको गणना गरिएको छैन ।
हाल सात प्रदेशका विभिन्न जिल्लाहरू काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, सुनसरी, मोरङ, धनुषा, सर्लाही, सप्तरी, सिराहा, रुपन्देही, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ, कैलालीमा सयपत्री फूलको व्यावसायिक खेती भइरहेको छ ।
अवैध आयात बढी
उहाँले खुलमखुला आयात गर्न नपाइने अवस्थामा अवैध आयात नरोकिएको बताउनुभयो । जसकारण, पूर्वानुमान गरिएअनुरूप ३७.५ प्रतिशत फूल आयातका लागि सम्बन्धित निकायमा पत्राचार गरिए पनि आयात भने अत्यधिक भएको छ । अर्थात् ६० लाख फूल आयात भएको छ ।
उहाँले भन्नुभयो, “खुलमखुला आयात गर्न पाउने स्थिति छैन । सरकारले रोकेको अवस्था छ । अवैध आयात बढी हुन्छ, रोकिएको छैन । त्यो रोक्नुपर्छ भनेर हामी लागिरहेका छौँ । नेपाली किसानको उत्पादन महँगो भए पनि खपत गर्नुपर्छ भन्ने कुरा हाम्रो छ ।”
३७ करोडको फूल कारोबार
फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार यो वर्ष ३७ करोड १८ लाख बराबर फूलको कारोबार हुनेछ । अघिल्लो वर्ष तिहारमा २७ करोड ४६ लाख बराबरको फूल कारोबार भएको थियो ।
सयपत्री मालाको ८० रुपियाँ
एसोसिएसनका अनुसार यो वर्ष सयपत्री मालाको औसत प्रति थोक मूल्य ८० रुपियाँ पुगेको छ । गत वर्ष सयपत्री मालाको मूल्य ६५ रुपियाँ थियो । यो वर्ष सयपत्री माला आन्तरिक उत्पादन २५ लाख भएको छ भने १५ लाख माला आयात गरिएको छ । गत वर्ष आन्तरिक उत्पादन १५ लाख ५० हजार र १९ लाख ५० हजार आयात भएको थियो । अघिल्लो २२ करोड ७५ लाख बराबर कारोबार भएकोमा यो तिहारसम्म ३२ करोड बराबर कारोबार हुने अनुमान गरिएको छ ।
मखमली मालाको ४५ रुपियाँ
यो वर्ष मखमली मालाको औसत प्रति थोक मूल्य ४५ रुपियाँ पुगेको छ । गत वर्ष मखमली मालाको मूल्य ४३ रुपियाँ रहेको थियो । मखमली मालाको आन्तरिक उत्पादन तीन लाख २५ हजार भएको छ भने एक लाख ५० हजार निर्यात हुने अवस्थामा छ ।
गत वर्ष मखमली मालाको आन्तरिक उत्पादन तीन लाख २५ हजार रहेकोमा एक लाख माला निर्यात भएको थियो । यसैगरी, गत वर्ष एक करोड ८१ लाख कारोबार भएकोमा यो वर्ष दुई करोड १३ लाख बराबरमा कारोबार हुने देखिएको छ ।
गोदावरी मालाको एक हजार
गत वर्ष जस्तै यो वर्ष गोदावरी मालाको प्रति थोक मूल्य एक हजार रुपियाँ छ । गत वर्ष र यो वर्ष गोदावरी मालाको माग उस्तै छ अर्थात् २० हजार रहेको छ । करिब दुई करोड बराबरको कारोबार हुने पूर्वानुमान गरिएको छ ।
मिक्स माला तीन सय ५० रुपियाँ
यो वर्ष मिक्स मालाको मूल्य तीन सय ५० रुपियाँ छ । गत वर्ष यो मालाको मूल्य तीनसय रुपियाँ रहेको थियो । गत वर्षजस्तै यो वर्ष पनि मिक्स मालाको माग ३० हजार छ । गत वर्ष ९० लाख बराबरको कारोबार भएकोमा यो वर्ष एक करोड पाँच लाख बराबरको कारोबार हुने बताइएको छ ।
Discussion about this post