दोलखाको गौरीशङ्कर गाउँपालिकामा आउँदो मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको सरगर्मी बढ्दै गएको छ । जिल्लामा रिक्त रहेको एक मात्र गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको र सो निर्वाचनका सरगर्मी बढ्दै गएको बताइएको छ ।
उपनिर्वाचन हुने निश्चित भएसँगै यतिबेला ठुला दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका दलले आफ्नो पक्षमा माहौल बनाउन गाउँ पसेका छन् । दलहरू आफ्नो पक्षमा माहौल बनाउन र चुनाव प्रचारप्रसारका लागि गाउँ केन्द्रित भएका छन् ।
मेरो प्रतिज्ञा गौरीशङ्करको उन्नति मुख्य नाराका साथ नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएकी स्व.पूर्व उपाध्यक्षकी धर्मपत्नी पासदिकी शेर्पा तमाङसहित टोली गाउँ गाउँमा पुगेको छ । उहाँले पतिले गाउँपालिकावासीलाई दिन बाँकी योगदान दिन आफ्नो उम्मेदवारी तय गरिएको बताउनुभयो ।
कार्यतालिका बनाएर नौ वडामा प्रचारप्रसार गर्दै भेटघाट, भलाकुसारी र गुनासो सुन्ने र आशीर्वाद थाप्ने काम भएका उहाँले स्पष्ट पार्नुभयो ।
त्यसै गरी नेपाल कम्युनिस्ट पार्टी एमालेकी उम्मेदवार उमा मगर शेर्पालाई सदरमुकाम चरीकोट बोलाएर पार्टी कार्यालयबाट जितको शुभकामनासहित टोली गाउँ पुगेको छ । उम्मेदवार उमाले भन्नुभयो, जनताका घरदैलोमा पुगेर मत माग्दै मतदातासँग आशीर्वाद लिने, सुझाव सङ्कलन गर्ने र अन्य राजनीतिक दलहरुसँग पनि भेटघाट गर्ने योजनाका साथ काम भइरहेको छ । गाउँका प्रबुद्धवर्गसँग पनि राय लिने पनि कार्यतालिका बनेको छ ।
अहिलेको जल्दोबल्दो मानिएको सामाजिक सञ्जाल फेसबुकमार्फत पनि उम्मेदवारहरु भोट मागिरहेका छन् । युवाको आह्वान, पाकालाई धन्यवाद र सम्मान युवालाई मतदान परिवर्तन शिक्षित युवाबाट सम्भव छ भन्दै नेकपा एकिकृत समाजवादीकी उम्मेदवार रबिना खड्काले फेसबुकमार्फत भोट मागिरहनुभएको छ । उहाँले महिला, बालबालिका तथा समग्र पालिकावासीका पक्षमा काम गर्न प्रतिबद्ध छु ।
माओवादी केन्द्रकी उम्मेदवार निमलेकी शेर्पा केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट अग्रिम जितको शुभकामना पाएर गाउँ गाउँमा प्रचारप्रसामा तल्लीन हुनुहुन्छ । उहाँले भन्नुभयो, गाउँका विपन्न, महिला तथा बालबालिकालाई लक्षित गरी काम गर्नेछु । पिछडिएको गाउँलाई विकासको लहर ल्याई समुन्नत बनाउने लक्ष्य छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मनकुमारी श्रेष्ठलाई उम्मेदवार बनाएको र अब गाउँ केन्द्रित हुने तयारी भइरहेको जिल्लाध्यक्ष विष्णु श्रेष्ठले बताउनुभयो ।
वडा नम्बर १ देखि ७ नम्बर वडा (जुँगुदेखि मार्वुसम्म) १÷१ वटा तथा वडा नम्बर ८ खारेमा २ र वडा नम्बर ९ गौरीशङ्करमा ३ वटा मतदानस्थल रहनेछन् । जिल्ला निर्वाचन कार्यालय दोलखाका निमित्त प्रमुख विशाल केसीका अनुसार उपनिर्वाचनमा १२ वटा मतदानस्थल रहने निश्चित भए पनि मतदान केन्द्रको भने टुङ्गो लाग्न बाँकी छ । निर्वाचन आयोगले मतदाता सङ्ख्या यकिन गरेपछि मात्रै मतदान केन्द्रको टुङ्गो लाग्नेछ । २०७९ साल मङ्सिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गाउँपालिकामा २१ वटा मतदान केन्द्र थिए । गाउँपालिकाको उपनिर्वाचनका लागि मतदाताको अन्तिम नामावली पनि अझै टुङ्गो लागेको छैन ।
Discussion about this post