बाँकेको राप्ती–सोनारी र नरैनापुर गाउँपालिकामा राप्तीनदीले कटान गरेको क्षेत्रमा तत्कालै रोकथामका लागि तटबन्धनको व्यवस्थापन गर्न स्थानीय बासिन्दाले माग गरेका छन् ।
राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ७ खल्ला झगडिया र नरैनापुर ७ गङ्गापुरमा तत्काल तटबन्धनको माग स्थानीय बासिन्दाले गर्नुभएको हो । कटान क्षेत्रको स्थलगत जानकारी लिन खल्ला झगडिया पुग्नुभएका बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सूर्य ढकाललाई स्थानीय बासिन्दा सोहनलाल यादवले तत्काल कटान नियन्त्रणको काम अघि नबढाउने हो भने आगामी वर्षायाममा राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका हजारौं परिवार विस्थापित हुने बताउनुभयो ।
यादवले भन्नुभयो, ‘‘यस वर्षको बाढीले नदी किनारको सडक समेत कटान गर्दा आवागमनमा कठिनाइ भएको छ । अब अर्को वर्ष यस्तै रहे ठुलो क्षति हुने निश्चित छ ।’’
प्रतिनिधिसभा सदस्य ढकालको नेतृत्वमा स्थानीय बासिन्दाले राप्तीनदीको कचनापुरदेखि नरैनापुरसम्म जोखिममा रहेका करिब एकदर्जन स्थानमा तटबन्धनको माग गर्दै आएको भए पनि सरकारको पर्याप्त बजेट विनियोजन गरेको छैन ।
प्रतिनिधिसभा सदस्य ढकालले बाँकेको दुर्गम क्षेत्रको रुपमा रहेको राप्तीसोनारी र नरैनापुरमा राप्तीनदीको कटान निरन्तर बढिरहेकाले सरकारले नियन्त्रणका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने माग गर्नुभयो ।
कटान नियन्त्रणका लागि बजेट विनियोजनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न मन्त्रालय र लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराएको भन्दै ढकालले तत्काल बजेट विनियोजन हुने विश्वास व्यक्त गर्नुभयो ।
राप्तीनदीमा आउने बाढीले गर्दा वर्षातको समयमा राप्तीसोनारी र नरैनापुरका धेरै गाउँ डुबान र कटानमा पर्दै आएका छन् । पटक पटक प्रयास गरिए पनि बलियो तटबन्ध नबन्दा सो क्षेत्रका सयौँ बासिन्दाले डुबान र कटान झेल्दै आएका छन् । यसअघि निर्माण गरिएको माटोको तटबन्धन निरन्तर कटानमा परेपछि दुबै पालिकाका गाउँहरु उच्च जोखिममा परेका हुन् ।
Discussion about this post