उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रको मागअनुसार उद्योगसँग सम्बन्धित ऐन कानुन र नीतिहरू लगानीमैत्री बनाउने बताउनुभएको छ । बिहीबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्नुहुँदै उद्योग मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।
उहाँले सरकार निजी क्षेत्रको मनोबललाई उच्च बनाउँदै अर्थतन्त्रमा सुधार तथा आन्तरिक तथा बाह्य लगानीको वातावरण बनाउने प्रयास गरिरहेको जानकारी दिनुभयो । उहाँले सरकारले अहिले उद्योग वाणिज्य मन्त्रालयसँग सम्बन्धी कम्पनी ऐन, औद्योगिक व्यवसायी ऐन, बौद्धिक सम्पत्ति ऐन, खानी तथा खनिजसम्बन्धी ऐन, विशेष आर्थिक क्षेत्र ऐन, जग्गा प्राप्ति सम्बन्धी ऐन, सार्वजनिक खरिद ऐन र वन तथा वातावरण ऐनलाई परिमार्जन गर्ने तयारीमा रहेको बताउनुभयो । उहाँले यी ऐनहरूमा निजी क्षेत्रको सुझावको आधारमा परिमार्जन गर्नुपर्ने विषयलाई परिमार्जन गर्न सरकार तयार रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘उद्योग वाणिज्य मन्त्रालयसँग सम्बन्धी कम्पनी ऐन, औद्योगिक व्यवसायी ऐन, बौद्धिक सम्पत्ति ऐन, खानी तथा खनिजसम्बन्धी ऐन, विशेष आर्थिक क्षेत्र ऐन, जग्गा प्राप्ति सम्बन्धी ऐन, सार्वजनिक खरिद ऐन र वन तथा वातावरणसँग सम्बन्धित ऐनहरूलाई चाँडै परिमार्जनका लागि सरकारले सम्बन्धित मन्त्रालयहरूलाई प्रधानमन्त्रीले मन्त्रालयलाई निर्देशन भएको छ । निजी क्षेत्रलाई आग्रह गर्न चाहन्छु । सरकारसँग आउनुस् कहाँ–कहाँ हो समस्या ? सरकारले लगानी भित्र्याउँदा आएका हडल्सहरु छन् । नीति, ऐन, कानुनमा भएका समस्याका विषयमा छलफल गरौँ ।’’
मन्त्री भण्डारीले नीति ऐन, कानुनमा रहेका समस्याको विषयमा निजी क्षेत्रले दिएका सुझावको आधारमा नीति निर्माण गरिने भनाइ राख्नुभयो । उहाँले आन्तरिक तथा बाह्य लगानीका लागि रहेका हडल्सहरुलाई सरकारले तत्काल समाधान गरी अगाडि बढ्ने बताउनुभयो । स्वदेशी लगानीलाई उत्साहित मनोबलका साथमा अगाडि बढ्ने बताउनुहुँदै निजी क्षेत्रले सरकारसँग राखेको अपेक्षा नीति, ऐन कानुन र सेवा प्रवाहको सहुलियतका विषयमा सरकार सकारात्मक रहेको बताउनुभयो ।
उहाँले लगानीसँग सम्बन्धित मुलुकमा भएका कानुन व्यवसायीहरूले मात्रै व्याख्या गर्नसक्ने खालका रहेको भन्दै वर्तमान सरकार नीति ऐन कानुनलाई सरल र सबैले बुझ्ने खालको बनाउन लागेको बताउनुभयो । हालै आएको मुलुकको कन्ट्री रेटिङ रिपोर्टले मुलुकमा लगानीमैत्री वातावरण रहेको देखाएकाले उत्साह छाएको बताउनुहुँदै उहाँले दक्षिण एसियामा भारतपछि नेपालमा लगानीको राम्रो वातावरण रहेको धारणा व्यक्त गर्नुभयो ।
‘‘मुलुकमा भविष्यमा यस्तो वातावरण बनोस् । धेरै विदेशी लगानीलाई स्वागत गर्न पाऔँ । स्वदेशी लगानीलाई उत्साहित मनोबलका साथमा अगाडि बढ्न सक्नुपर्छ । निजी क्षेत्रले सरकारसँग राखेको अपेक्षा नीति,ऐन कानुन र सेवा प्रवाहरतको सहुलियत हो । तर मुलुकमा भएका कानुन व्यवसायीहरूले मात्रै व्याख्या गर्नसक्ने खालको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘वर्तमान सरकार नीति ऐन कानुनलाई सरल र सबैले बुझ्ने खालको बनाउन लागेको छ । मुलुकमा लगानीमैत्री वातावरण रहेको एक अध्ययनले देखाएको छ । त्यसले उत्साह छाएको छ । दक्षिण एसियामा भारतपछि नेपालमा लगानीको राम्रो वातावरण रहेको कन्ट्री रेटिङ रिपोर्टले देखाएको छ ।’’
Discussion about this post