नेपालमै पहिलो पटक नवलपुरको मध्यविन्दु नगरपालिकाले विद्यार्थी, अभिभावक र शिक्षकलाई मध्यनजर गर्दै ‘हाम्रो खुसी’ (आवर हेप्पीनेश) पाठ्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि गृहकार्यलाई तीव्रता दिइएको छ ।
यो पाठ्यक्रम आगामी आर्थिक वर्षदेखि नगरपालिकाका एकदेखि ८ कक्षासम्मका सबै विद्यार्थीका लागि लागु गरिने नगरपालिकाले जनाएको छ । पाठ्यक्रम निर्माणसँग सम्बन्धित सबै काम गर्नका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ४५ लाख रुपियाँ रकम विनियोजन गरेको छ । सबैले शिक्षामा नयाँ स्वाद पाउने गरी यो पाठ्यक्रम निर्धारण गर्न लागिएको मध्यविन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारीले जानकारी दिनुभयो ।
विद्यार्थीमा संवेदनशील भावनाको विकास र पारिवारिक सम्बन्ध विस्तारका लागि यो पाठ्यक्रम कोशेढुंगा साबित हुने नगरपालिकाको विश्वास छ । “हामीले धेरै नम्बर ल्याएर उत्तिण हुनु र भोली घर, घडेरी, गाडी जस्ता भौतिक सुविधा जोड्नुलाई नै सफलता ठान्यौँ, यसले समाजलाई ध्वंसात्मक र विद्यार्थीलाई रोबोर्ट जस्तो बनाउने काम गर्यो, एकले अर्कोलाई सम्मान गर्न नजान्ने र मानवीयता हराउँदै गएको आभास भयो”, नगरप्रमुख अधिकारीले भन्नुभयो, “विद्यार्थीमा अनुशासन र संस्कार हराउँदै गएको र उद्दण्डता बढ्दै गएको देखिएपछि स्थानीय पाठ्यक्रमलाई निरन्तरता दिँदै सबै शिक्षक र विद्यार्थी खुसीसाथ विद्यालय हाताभित्र प्रवेश गर्ने र अभिभावक पनि खुसी हुने र नगरवासीलाई नै खुसी के हो भनेर जोड्ने गरी ‘हाम्रो खुसी’ पाठ्यक्रम तयार गरिँदै छ ।”