मणिराज महतो । नवलपुर(पूर्वी नवलपरासी) का थारुहरुले मनाउने अनत पाबन भदौ महिनाको शुक्ल पक्षको चतुर्दशी तिथिमा मनाइने ब्रत हो।
यो बर्ष असोज ११ गते अनत पर्व परेको छ। यस दिन बिशेष गरेर थारूहरूले ब्रत बसेर पिङ(हेणौला) खेल्ने, भोदी खेल्ने र अनतको डोरो बाँधेर ब्रत राख्ने चलन रहेको छ।
अनतको ब्रत राख्ने पुरुषहरुले १४ गाँठो भएको अनतको डोरो दाहिने पाखुरामा बाध्ने र ब्रतालु महिलाहरुले बायाँ पाखुरामा बाध्ने चलन रहेको छ। यसरी बाँधेको अनतको डोरो अमोसा(पितृऔंसी) मा बिसर्जन गर्ने चलन रहेको छ।
अनतको डोरो बाँधेको ब्यक्ती ले डोरो बाँधेपछि अमोसा(पितृ औंसी) सम्म शाकाहारी जीवन बिताउनु पर्ने चलन रहेको छ।
कथा:
जब पाण्डवहरुले जुवामा आफ्नो राजकाज हारेर बनवासको कष्टकर जीवन बाँचिरहेका थिए तब भगवान श्रीकृष्ण ले पाण्डवहरुलाई भगवान अनन्तको ब्रत राख्न सल्लाह दिएका थिए र पाण्डवहरु आफ्नो बनवासको समयमा १४ बर्ष सम्म हरेक साल अनत पाबनको दिन भगवान अनन्तको डोरो बाँधेर बिधिवत ब्रत राखेका थिए र यसैको प्रभावले गर्दा पाण्डवहरुले महाभारत को युद्ध मा बिजयी भएका थिए र आफ्नो गुमेको राजकाज फिर्ता पाउन सफल भएका थिए। तत्पश्चात सबैले अनत ब्रत लिन थालिएको पौराणिक कथा र किम्बदन्ती रहेको छ।
ब्रत बिधि:
अनतको अघिल्लो दिन बिहान स्नान गरी चोखो बस्नुपर्दछ जसलाई लहा खाने भनिन्छ र त्यही राती पिङ बाटेर अनतको दिनको तयारी गरी राती नै भाले बास्नु अगाडी मिठो मिठो परिकारहरुको डटकट खाएर शुरु गरिन्छ। अनतको दिन सफा बस्त्र धारण गरेर पिङ खेल्ने, भोदी खेल्ने र अनतको डोरो बाँधेर बेलुकीपख स्नान गरी फरहर गर्ने चलन रहेको छ।
बेलुकीपख ब्रतालुले स्नान गरेर आइ फरहर गर्ने ठाउँमा गाईको गोबरले लिपपोत गरी त्यसै माथी पिर्का मा बसेर केराको पातमा चिउरा, दुधदही, केरा आदि फलफूल हरु भगवान अनन्तको पूजापाठ गरेर फरहर गर्ने गर्दछन। फरहरमा नुन बर्जित गरेको पाइन्छ।
ब्रतफल:
यस दिन ब्रत बस्नाले गुमेका धन सम्पत्ति, राजपाट, यश, आराम, आदि प्राप्त हुने, बिष्णुलोक प्राप्त हुने र सधै सत्यको जित हुने गर्दछ भन्ने जनविश्वास रहदै आएको छ।
थारु बिद्यार्थी समाज, नवलपुरले अनन्त चतुर्दशी/ अनत पर्वको अवसरमा असोज ११ गतेका दिन स्थानीय बिदाको माग राखेको छ।
Discussion about this post