रुसले तेल र ग्यास निर्यातको भुक्तानीका लागि बिटकोइन स्वीकार्ने विषयमा विचार गरिरहेको एक रुसी सांसदले बताएका छन्।
पाभेल जाभाल्नीले “मित्र” देशहरूलाई क्रिप्टोकरेन्सी अथवा उनीहरूको स्थानीय मुद्रामा भुक्तानी गर्न दिन सकिने बताएका छन्।
यसै साताको सुरुमा राष्ट्रपति भ्लादिमिर पुटिनले “मैत्रीपूर्ण सम्बन्ध नभएका” देशहरूले रुबलमा रुसी ग्यास किनून् भन्ने चाहेको बताएका थिए।
यो कदम रुसी मुद्राको मूल्य बढाउन चालिएको जस्तो बुझिएको छ। रुसी मुद्राको यसै वर्षभित्र २० प्रतिशत अवमूल्यन भइसकेको छ।
युक्रेनमाथि रुसी हमलापछि यूके, अमेरिका र युरोपेली सङ्घले लगाएका प्रतिबन्धहरूका कारण रुसी रुबलको मूल्य खस्केको छ भने त्यहाँ जीवनयापनको लागत बढेको छ।
यद्यपि अझै पनि रुस विश्वको ठूलो प्राकृतिक ग्यास निर्यातकर्ता हो र दोस्रो ठूलो तेल आपूर्तिकर्ता हो।
Discussion about this post