मुम्बई । धनगढी क्रिकेट एकेडेमी नयाँ मुम्बईको माझगाउँ क्रिकेट एकेडेमीको खेल मैदानमा भएको खेलमा पराजित भएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेहेरुल जिमखाना क्लबले ८ विकेटको नोक्सानीमा २४० रनको लक्ष दिएको थियो। डीसीएका लागि प्रयाग भट्टले २, बिनोद जोशीले १ विकेट, सुरेश भण्डारीले २ र हेमन्त बोहोराले सर्वाधिक ३ विकेट लिएका थिए।
२४० रनको लक्ष पछ्याएको डीसीएले ४० ओभरमा १४७ रनमा समेटियो ।
डिसीएका लागि रमित टमटाले ५१ रन, रमित कार्कीले ५ रन, प्रयाग भट्टले १८ रन, युवराज कुँवरले १८ रन, हिमाल बोहोराले २ रन, राजु ऐर १, समिर बम ८ रनमा आउट भए, हेमन्त बोहोराले १३ रन बनाए, र भुवन धामीले ४ रन बनाए।
क्रिकेट प्रशिक्षण तथा अन्तर्राष्ट्रिय अनुभव दिलाउने उद्देश्यले डीसीएको टोली केही दिनअघि मुम्बई पुगेको हो। भ्रमणका क्रममा टोलीले मुम्बईका विभिन्न ६ स्थानीय क्लबहरूसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।

त्यसैगरी टोलीले मुम्बईस्थित वाङ्खडे स्टेडियममा नेपालसहित विभिन्न देशहरूबीच हुने विश्वकप क्रिकेटका खेलहरू प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रम पनि रहेको डीसीएका म्यानेजर सन्दीप भट्टले जानकारी दिएका छन्।
यस भ्रमणले युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय वातावरणमा खेल्ने अनुभव, सीप विकास तथा आत्मविश्वास वृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।


