थारु समुदायको मौलिक संस्कृति, परम्परा र सामूहिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले थारु कल्याणकारिणी सभा पोर्चुगलद्वारा पोर्चुगलमा प्रथम माघी (खिचरी, खिचडी, खिचरा, तिला सक्राइत, माघ) उत्सव २०२६ आयोजना हुने भएको छ।
उक्त कार्यक्रम आगामी जनवरी १०, २०२६ मा Love Lisbon, Rua José António Serrano, Floor 4, 1150-333 Lisboa मा सम्पन्न हुनेछ। यो उत्सव थारु सम्वत् २६४९ को अवसरमा आयोजना गरिँदैछ।
सभाको महासचिव अविनाश चौधरीका अनुसार “थारु संस्कृति हाम्रो पहिचान, आप्रवासी थारु एकताको अभियान” भन्ने नारासहित आयोजना हुने यस उत्सवमा थारु समुदायका मौलिक नृत्य, सांस्कृतिक झाँकी, परम्परागत भेषभूषा, थारु खानाका परिकार तथा सांस्कृतिक प्रदर्शनी प्रस्तुत गरिनेछ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा सुपरहिट गायक रोहित सिंह चौधरीको लाइभ सांगीतिक प्रस्तुति रहनेछ। उनका चर्चित थारु गीतहरूले माघी उत्सवलाई थप उल्लासमय बनाउने आयोजकको विश्वास छ।
पोर्चुगलसहित युरोपका विभिन्न देशहरूमा बसोबास गर्ने थारु तथा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सफल बनाउन थारु कल्याणकारिणी सभाको अध्यक्ष बाल कुमारी चौधरीले सबैलाई आग्रह गर्नुभएको छ।
उक्त कार्यक्रमको मिडिया पार्टनर EasyKhabar रहनेछ।






