काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठक काठमाडौंमा सम्पन्न भएको छ। यही पुस १ र २ गते सम्पन्न बैठकले समसामयिक राजनीतिक, सामाजिक तथा राष्ट्रिय सरोकारका विषय समेट्दै १५ बुँदे महत्वपूर्ण प्रस्ताव पारित गरेको छ।

बैठकले नेपालको अग्रगामी राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलन तथा जनआन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेप्रति सम्मान व्यक्त गरेको छ। साथै, घोषित फाल्गुन २१ गतेको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र लोकतान्त्रिक रूपमा सम्पन्न गराउन अनुकूल वातावरण निर्माण गर्न सरकारसँग माग गरिएको छ।

पार्टीले विदेशमा रहेका नेपाली नागरिकलाई विदेशबाटै मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने, देशका अन्य जिल्ला वा निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदातालाई आफू रहेको स्थानबाट मतदान गर्न सक्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। १६ वर्षमा मताधिकार सुनिश्चित भएकाले सोही उमेरका युवालाई जनप्रतिनिधिको उम्मेदवार बन्न पाउने कानुनी व्यवस्था गर्नुपर्ने माग पनि बैठकले गरेको छ।

बैठकले निर्वाचन परिचालन तथा वार्ता संवाद समिति गठन गरेको छ, जसमा सन्तोष परियार, अञ्जली भण्डारी, सत्यनारायण भाट, लक्ष्मी गुरुङ र धमान सिंह गुरुङ सदस्य रहेका छन्। लोकतन्त्रको आवरणमा मौलाएको भ्रष्टाचार, नातावाद र दण्डहीनताको अन्त्यका लागि आगामी निर्वाचनमा भ्रष्ट र विवादित उम्मेदवारलाई अस्वीकार गर्ने निर्णय पनि गरिएको छ।
महिला हिंसा, दलित तथा जातीय विभेदका घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दोषीमाथि कडा कारबाही र यस्ता घटना नदोहरिने सुनिश्चितता गर्न सरकारसँग माग गरिएको छ। चिसोका कारण जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै प्रभावितलाई तत्काल राहत र पुनर्स्थापनाको व्यवस्था गर्न आग्रह गरिएको छ।
यसैगरी, विदेशमा कार्यरत नेपाली श्रमिकको सुरक्षाका लागि प्रभावकारी कूटनीतिक पहल गर्न, सहकारी पीडितको रकम सुरक्षित फिर्ता गराउन र दोषीमाथि कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरिएको छ। जनयुद्ध र शान्ति प्रक्रियासम्बन्धी ऐतिहासिक सम्झौताहरूको कार्यान्वयन तत्काल सुरु गर्नुपर्नेमा पनि बैठकले जोड दिएको छ।
बैठकले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकलाई बधाई दिँदै नेपाली क्रिकेटको भविष्यप्रति आशा व्यक्त गरेको छ। साथै, पार्टीले आगामी दिनमा लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरूबीच व्यापक एकता र सहकार्यको पहल गर्ने निर्णय गरेको छ।








