ललितपुर । ललितपुरको जावलाखेलस्थित मुन म्यानपावरमा श्रम मन्त्रालयको टोलीले छापा मारेको छ।
मलेसिया जान लागेका एक युवाले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेपछि मन्त्रालयले प्रहरीसहित शुक्रबार म्यानपावरमा छापा मारेको हो। श्रममन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवका अनुसार प्रधानमन्त्री कार्यालयबाट जानकारी आएपछि तत्काल अनुगमन तथा छापा कारबाही गरिएको हो।

छापाका क्रममा उक्त म्यानपावरबाट ४३७ वटा पासपोर्ट र ७ लाख ९० हजार रुपैयाँ नगद बरामद गरिएको छ। बरामद नगदको कुनै रसिद फेला नपरेको यादवले जानकारी दिए।

मन्त्रालयका अनुसार म्यानपावर कार्यालय सिल गरी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइनेछ। वैदेशिक रोजगारीमा जाने युवाबाट अवैध रूपमा रकम असुली गरिएको हुन सक्ने आशंकामा छानबिन भइरहेको बताइएको छ।

श्रम मन्त्रालयले वैदेशिक रोजगारीका नाममा ठगी, अतिरिक्त रकम असुली वा अन्य कुनै अनियमितता भए तत्काल मन्त्रालयमा खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।










