नवलपुर । नारायणी नदीपारि पर्ने निकुञ्ज क्षेत्रबाट माछा मार्ने तयारी गरिरहेको अवस्थामा नवलपुरको बाघखोरका हरिबहादुर माझी सहित ७ जनालाई पक्राउ गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्ज प्रशासन र नेपाली सेनाको संयुक्त टोलीले उनीहरूलाई बन्दोबस्तीका सामान तथा तयारी जालसहित निकुञ्जको अमलटारी सेक्टरबाट पक्राउ गरी चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा बुझाएको थियो।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा का अनुसार पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि दुई दिन हिरासतमा राखिएको थियो। त्यसपछि उनीहरूबाट कुल २४ हजार ५ सय रुपैयाँ जरिवाना असुल गरी आफन्तको जिम्मामा रिहा गरिएको हो।
स्थानीयका अनुसार पक्राउ परेकाहरू माझी समुदायका सदस्य हुन्। उनीहरूले पुस्तौंदेखि नारायणी नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएको बताएका छन्। स्थानीयले परम्परागत पेशामाथि कडाइ गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
घटनापछि निकुञ्ज क्षेत्रभित्र हुने गतिविधिमाथि निगरानी थप कडा बनाइएको जनाइएको छ।










