लन्डन — नेपालमा पछिल्लो समय देखिएको कठिन परिस्थितिमा आफ्नो तर्फबाट सकेको सहयोग गर्नुपर्ने भन्दै बेलायतको लन्डनमा व्यवसाय गर्दै आएकी संगीता मगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ६१ हजार ५ सय ५ रुपैयाँ सहयोग गरेकी छन्।

संगीताले आफ्नो व्यक्तिगत तर्फबाट रु. ५१ हजार ५ रुपैयाँ सहयोग गरेकी हुन्। साथै, उनका कफीका ग्राहक तथा शुभेच्छुकहरूको सहयोगबाट संकलित नेपाली रु. १ लाख १० हजार ५ सय समेत थप गरी कुल रु. १,६१,५०५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
नेपालमा विपद् तथा संकटको समयमा हरेक नागरिकले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताउँदै संगीताले सानो–सानो सहयोगले पनि ठूलो अर्थ राख्ने बताइन्।

उनले भनिन्, “नेपालको अहिलेको परिस्थितिमा हाम्रो सानो–सानो सहयोगको खाँचो छ। जसले जति सक्नुहुन्छ, सबैजना मिलेर सहयोग गरौँ।”
संगीता मगर लामो समयदेखि बेलायतको प्लमस्टेड क्षेत्रमा ‘टपरी मम एण्ड थकाली भान्छाघर रेस्टुरेन्ट’ व्यवसाय सञ्चालन गर्दै आएकी छन्। मूल घर सोलुखुम्बु, नेपाल भएकी संगीता व्यवसायसँगै सामाजिक तथा मानवीय सेवामा पनि रुचि राख्ने सहयोगी मनकी व्यक्तिका रूपमा चिनिन्छिन्।

आफ्नो व्यक्तिगत योगदानसँगै ग्राहक तथा शुभेच्छुकहरूलाई समेत सहयोग अभियानमा जोडेर संकलित रकम विपद् उद्धार कोषमा जम्मा गर्नुले विदेशमा रहेर पनि मातृभूमिप्रतिको जिम्मेवारी र सामाजिक उत्तरदायित्वप्रतिको उनको भावना देखाएको छ।
नेपालमा विपद् वा संकट आइपर्दा विदेशमा रहेका नेपाली समुदायले समेत विभिन्न माध्यमबाट सहयोग गर्दै आएका छन्। संगीताको यो पहलले ‘सक्नेले आफ्नो क्षमताअनुसार सहयोग गरौँ’ भन्ने सकारात्मक सन्देश दिएको छ।
सानो सहयोगले कसैको जीवनमा ठूलो राहत ल्याउन सक्छ। त्यसैले कठिन परिस्थितिमा सबै मिलेर आफ्नो ठाउँबाट सकेको सहयोग गर्नु आवश्यक छ।










