क्रोएसिया/इजीखबर संवाददाता। नवलपरासी (पूर्व) को मध्यबिन्दु नगरपालिका–१, पतवारी स्थायी घर भएका २६ वर्षीय ऋषिराम चौधरीको क्रोएसियामा उपचारका क्रममा दुःखद निधन भएको छ।

वैदेशिक रोजगारीका सिलसिलामा विगत ३ वर्षदेखि क्रोएसियाको नोभी मारूफस्थित Baldiak d.o.o. कम्पनीमा कार्यरत चौधरीको बिहीबार दिउँसो करिब २ बजेतिर Varaždin General Hospital मा निधन भएको जनाइएको छ।
प्राप्त जानकारीअनुसार करिब एक महिना अघि अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनको लिभरको अपरेशन समेत गरेका थिए। तर, अपरेशनपछि शरीरमा संक्रमण फैलिँदै गएपछि स्वास्थ्य अवस्था थप जटिल बनेको थियो। उनी पछिल्ला करिब ३ सातादेखि कोमामा रहेका थिए।
स्वर्गीय ऋषिराम चौधरीको पार्थिव शरीर नेपाल पठाउन परिवारजनको रोहबरमा नेपाली दूतावास, भियना मार्फत आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।
यस दुःखद घडीमा NRNA Croatia परिवारले स्वर्गीय चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको चिर आत्माको शान्तिको कामना गरेको छ। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।










