लन्डन । बेलायतमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका उत्तर बहादुर गुरुङ रसमोर बरो काउन्सिलको काउन्सिलर पदमा निर्वाचित हुनुभएको छ। लेबर पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका गुरुङ अल्डरसटस्थित वेलिंग्टन वार्डबाट विजयी हुनुभएको हो।

मे ७ मा सम्पन्न मतदानको अन्तिम परिणाम अनुसार गुरुङले ५५१ मत प्राप्त गर्दै आफ्नो विजय सुनिश्चित गर्नुभएको हो। उहाँको विजयलाई बेलायतस्थित नेपाली समुदायले गौरवपूर्ण उपलब्धिका रूपमा लिएको छ।
भूतपूर्व ब्रिटिस गोर्खा सैनिक रहनुभएका गुरुङ लामो समयदेखि अल्डरसट क्षेत्रको नेपाली समुदाय, सामाजिक अभियान तथा भूतपूर्व सैनिकहरूको हकहितका विषयमा सक्रिय रहँदै आउनुभएको छ। चुनावी अभियानका क्रममा उहाँले सैन्य आवासको सुधार, स्थानीय सेवाको पहुँच विस्तार तथा भूतपूर्व सैनिकहरूको अधिकार संरक्षणलाई मुख्य एजेन्डा बनाउनुभएको थियो।
अल्डरसटलाई बेलायतमा गोर्खा समुदायको महत्वपूर्ण बसोबास क्षेत्रका रूपमा चिनिन्छ। गुरुङको विजयले नेपाली मूलका समुदायको राजनीतिक सहभागिता र प्रतिनिधित्व थप मजबुत भएको विश्लेषण गरिएको छ।
स्थानीय नेपाली समुदायका अगुवाहरूले उहाँको जितले बेलायतमा बसोबास गर्ने नेपालीहरूलाई राजनीतिक रूपमा अझ सक्रिय हुन प्रेरणा दिने बताएका छन्। गुरुङले पनि आफूले सम्पूर्ण समुदायको आवाज बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।










