नेपाल आदिवासी अपाङ्ग महिला संघ (निडवान)को आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुमाथि जलवायु परिवर्तनले पार्ने प्रभावबारे सचेतना फैलाउने उद्देश्यले चित्र लेखन कार्यक्रम सम्पन्न भएको छ। ललितपुरको पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिर परिसरमा आयोजित कार्यक्रममा दर्जनभन्दा बढी कलाकारहरुले सक्रिय सहभागिता जनाउँदै आफ्ना सिर्जनात्मक चित्रमार्फत जलवायु परिवर्तनका विविध पक्ष प्रस्तुत गरेका थिए।

“समावेशीकरणको कलाः जलवायु परिवर्तन अपाङ्ग भएका विविध व्यक्तिहरुको अनुभवमा पुनः आकार” भन्ने नारासहित सम्पन्न कार्यक्रमले विशेषगरी आदिवासी तथा अपाङ्ग महिलाहरुले भोगिरहेका चुनौतीलाई उजागर गर्ने प्रयास गरेको थियो।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार केके कर्माचार्यले जलवायु परिवर्तनको असर सबैलाई पर्ने भए पनि अपाङ्गता भएका व्यक्तिहरु सबैभन्दा बढी जोखिममा पर्ने बताए। उनले यस्तो अवस्थामा उनीहरुको संरक्षण र सहयोगका उपायमा ध्यान दिन आवश्यक रहेकोमा जोड दिए।
अर्का अतिथि दीपक ज्ञवालीले जलवायु परिवर्तनका कारण कोदो, मकै, धानलगायत अन्नबालीमा नकारात्मक असर परेको उल्लेख गर्दै सबैले यसप्रति सचेत हुनुपर्ने बताए।
संघकी अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयकी सह–प्राध्यापक प्रतिमा गुरुङले कार्यक्रमको उद्देश्य जलवायु परिवर्तनप्रति जागरण ल्याउने र अपाङ्गता भएका व्यक्तिहरुलाई जोखिम न्यूनिकरण तथा तयारीबारे सचेत गराउनु रहेको बताइन्। उनले चित्रमार्फत अनुभूति गराउने प्रयासले विषयलाई अझ प्रभावकारी बनाएको उल्लेख गरिन्।
कार्यक्रममा सहभागी कलाकारहरुले बाढी, पहिरो, तापक्रम वृद्धि, हिमाल पग्लिने अवस्था, कृषि संकटजस्ता विषयलाई चित्रमा उतारेका थिए। मिथिला शैलीदेखि आधुनिक चित्रकला सम्मका माध्यमबाट कलाकारहरुले तराईदेखि हिमालसम्मका जनजीवन र अपाङ्ग महिलाको अवस्थालाई प्रस्तुत गरेका थिए।
कलाकारहरुले जलवायु परिवर्तनले मानव मात्र नभई सम्पूर्ण जीवजन्तु, वनस्पति र पर्यावरणमा असर पारिरहेको सन्देश दिएका थिए। चित्रहरुमा पृथ्वीलाई साझा घरका रूपमा चित्रित गर्दै यसको संरक्षणमा सबैको भूमिका आवश्यक रहेको देखाइएको थियो।
दर्जनभन्दा बढी कलाकारहरुको सहभागितामा सम्पन्न उक्त कार्यक्रमले कला र सामाजिक सचेतनालाई जोड्दै जलवायु परिवर्तन र समावेशीताको सन्देश प्रभावकारी रूपमा प्रवाह गरेको आयोजकले जनाएको छ।
Share this:
- Email a link to a friend (Opens in new window) Email
- Print (Opens in new window) Print
- Share on WhatsApp (Opens in new window) WhatsApp
- Post
- Share on Threads (Opens in new window) Threads
- Share on Telegram (Opens in new window) Telegram
- Share on Tumblr
- Share on Mastodon (Opens in new window) Mastodon
- Share on Reddit (Opens in new window) Reddit
- Share on Nextdoor (Opens in new window) Nextdoor
- Share on Bluesky (Opens in new window) Bluesky










