काठमाडौं । लामो अन्तरक्रिया, संवाद र छलफलपछि केही समयअघि प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका पूर्व मन्त्री सुदन किराती नेतृत्वको समूह आज श्रम संस्कृति पार्टीसँग औपचारिक रूपमा एकीकृत भएको छ ।

दुवै पक्षबीच भएको सहमतिअनुसार किरातीलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिइने भएको छ । साथै, उनको समूहबाट केही नेताहरूलाई पार्टीको केन्द्रीय सदस्यमा समेट्ने तयारी गरिएको स्रोतले जनाएको छ ।
एकता घोषणासँगै पार्टीलाई वैचारिक रूपमा थप सशक्त बनाउने, श्रमिक, उत्पीडित र आम नागरिकका मुद्दालाई प्रभावकारी ढंगले उठाउने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन् ।
पार्टी एकीकरणपछि आयोजित कार्यक्रममा नेताहरूले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै आगामी दिनमा संयुक्त रूपमा संगठन विस्तार र जनसम्पर्क अभियानलाई तीव्र बनाइने बताएका छन् ।
यस एकताले नयाँ राजनीतिक समीकरण निर्माणमा समेत अर्थपूर्ण सन्देश दिएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।










