निर्वाचन आयोग, नेपालले आज नयाँ मतदाता दर्ता सम्बन्धी ताजा विवरण सार्वजनिक गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार २०८२ साल कात्तिक २१ गतेसम्म देशभर नयाँ दर्ता भएका मतदाताको कुल संख्या एक लाख ४६ हजार ६५७ पुगेको छ।
आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार तीमध्ये ८७ हजार ९७४ जना पुरुष, ५८ हजार ६६३ जना महिला र अन्य २० जना रहेका छन्।
कात्तिक २१ गते एकै दिन मात्र १० हजार ५९३ जना नयाँ मतदाता थपिएका छन्। तीमध्ये ६ हजार १०७ जना पुरुष, ४ हजार ४८४ जना महिला र अन्य २ जना रहेका छन्।
प्रवक्ता भट्टराईका अनुसार आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदाता दर्ता प्रक्रियालाई अझ सक्रिय, पारदर्शी र विश्वसनीय बनाउन नियमित रूपमा यस्ता तथ्यांकहरू सार्वजनिक गर्दै आएको हो।
हाल मतदाता दर्ता प्रक्रिया आयोगका कार्यालयहरूमा भौतिक रूपमा र अनलाइन प्रणालीमार्फत समेत सञ्चालन भइरहेको छ। आयोगले जनाएको छ कि मतदाता दर्ता भएकाले मात्र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नो मतदान अधिकार प्रयोग गर्न सक्नेछन्।
नयाँ मतदाता नामावली संकलन गर्ने अवधि २०८२ साल कात्तिक ३० गतेसम्म कायम रहने आयोगले जनाएको छ।








