२ करोड ७५ लाख बैंक ग्यारेन्टी बुझाएपछि रिहा हुने
काठमाडौं । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा थुनामा रहेका लामिछानेलाई रु. २ करोड ७५ लाख बैंक ग्यारेन्टी बुझाएर पुर्पक्षका लागि रिहा गर्न अदालतले निर्देशन दिएको हो।

न्यायाधीशद्वय श्री वासुदेव आचार्य र श्री तेजनारायण पौडेलको संयुक्त इजलासले जिल्ला अदालत रूपन्देहीको अघिल्लो थुनामा राख्ने आदेश आंशिक रूपमा बदर गर्दै नयाँ आदेश जारी गरेको हो। अदालतले बैंक ग्यारेन्टीलाई प्राथमिकता दिँदै मुद्दाको कारबाही अघि बढाउन सकिने ठहर गरेको छ।
अदालतका अनुसार लामिछाने अनुसन्धान र न्यायिक प्रक्रियामा सहयोग गर्ने देखिएको, फरार हुने वा प्रमाण नष्ट गर्ने पर्याप्त आधार नदेखिएकाले थुनामा राखिरहनु आवश्यक नरहेको निष्कर्ष निकालिएको हो। साथै, अदालतले मुद्दाको अन्तिम फैसला नआएसम्म तोकिएका सर्तहरू पालना गर्नुपर्ने स्पष्ट गरेको छ।
अदालतको आदेशसँगै लामिछानेको रिहाइको कानुनी बाटो खुलेको छ। तोकिएको बैंक ग्यारेन्टी बुझाएपछि उनी तत्काल रिहा हुनेछन्। यस प्रकरणमा बाँकी कानुनी प्रक्रिया भने जारी रहने अदालतले जनाएको छ।








