गोरखा । गोरखा–२ प्रतिनिधि सभा निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल एकीकरणका बडामहाराज पृथ्वीनारायण शाह तथा उनका विशेष सहयोगी बिसे नगर्चीको प्रतिमामा माल्यार्पण गर्दै ऐतिहासिक गोरखा दरबार पुगेर आफ्नो निर्वाचन अभियान औपचारिक रूपमा सुरु गर्नुभएको छ।

विद्यमान असहज तथा चुनौतीपूर्ण राजनीतिक परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै डा. भट्टराईले वर्तमान समयलाई ऐतिहासिक जिम्मेवारीको घडीका रूपमा व्याख्या गर्नुभयो। यही जिम्मेवारीबोधका साथ आफू चुनावी मैदानमा उत्रिएको स्पष्ट पार्दै उहाँले पुर्खाहरूबाट प्राप्त प्रेरणा र संघर्षको विरासतलाई आत्मसात् गर्दै संविधान, राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न दृढ तथा बलियो प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

लोकतान्त्रिक समाजवादी पार्टीका गोरखा जिल्ला संयोजक नारायण खत्री प्रस्तावक तथा जेन–जी विद्रोहका अगुवा रिजन राना मगर समर्थक रही डा. भट्टराईले गोरखा–२ बाट आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो।
डा. भट्टराईको चुनाव चिह्न ‘आँखा’ रहेको छ। निर्वाचन मिति नजिकिँदै जाँदा गोरखा–२ मा चुनावी गतिविधि थप तीव्र बन्दै गएको छ।








