काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार गोल्छालाई बिहीबार साँझ काठमाडौँको नक्सालबाट पक्राउ गरिएको हो।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्षसमेत रहेका गोल्छालाई नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उक्त प्रतिवेदन २०८३ वैशाख १० गते CIB मा प्राप्त भएको थियो।
प्रहरीका अनुसार काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका वडा नं. ८ निवासी हुलासचन्द्र गोल्छाका छोरा शेखर गोल्छामाथि धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५ को उपदफा (१) र दफा ९८ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको छ। सोही अभियोगमा काठमाडौँ जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिइएको थियो।
गोल्छा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षसमेत हुन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।








