काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रमा प्रहरीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ अन्तर्गत १९५ जनालाई नियन्त्रणमा लिइएको छ।

नेपाल प्रहरी का अनुसार ठगी, गुण्डागर्दी तथा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा उनीहरूलाई ठमेल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रबाट पक्राउ गरिएको हो।
प्रहरीले पछिल्लो समय बढ्दै गएको आपराधिक गतिविधिलाई नियन्त्रण गर्न विशेष अभियानका रूपमा ‘स्वीप अप्रेसन’ सञ्चालन गरिएको जनाएको छ। नियन्त्रणमा लिइएकामध्ये केही व्यक्तिमाथि ठगी, लुटपाट, अवैध कारोबार तथा सार्वजनिक शान्ति भंग गरेको आरोप लागेको बताइएको छ।
प्रहरीले अनुसन्धान जारी रहेको र दोषी देखिएकामाथि कानुनी कारबाही अघि बढाइने जनाएको छ। साथै, शान्ति सुरक्षा कायम राख्न यस्ता अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिएको छ।









