काठमाडौं — खाना पकाउने ग्यासको आपूर्ति व्यवस्था झन् जटिल बन्दै गएको छ। पश्चिम एसियामा उत्पन्न संकटका कारण पेट्रोलियम पदार्थको आपूर्ति शृङ्खला प्रभावित भएपछि नेपालमा पनि ग्यासको अभाव देखिएको हो।

आपूर्ति सहज बनाउन नेपाल आयल निगमले केही समय आधा सिलिन्डर (७.१ केजी) वितरण गरेको थियो। पछि पूर्ण सिलिन्डर वितरण सुरु गरिए पनि समस्या समाधान हुन सकेन। त्यसमाथि भदौ १० गते आएको बाढी र पृथ्वी राजमार्गको कृष्णभिरमा गएको पहिरोले सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा ग्यास आपूर्ति थप प्रभावित भएको छ।
तराईबाट वैकल्पिक मार्ग हुँदै ग्यास ल्याउने प्रयास भइरहे पनि राजधानीको माग धान्न कठिन भएको छ। निजी ग्यास उद्योगले वैकल्पिक व्यवस्थामा मूल्य बढाएको तथा साल्ट ट्रेडिङको एसिटिसी ग्याससमेत सहज रूपमा उपलब्ध हुन नसकेको उपभोक्ताको गुनासो छ।
यसैबीच, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साटेर ग्यास उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। तर ग्यास उद्योगीहरूले उक्त व्यवस्था कार्यान्वयन गर्न कठिन हुने बताएका छन्।
संसदीय समितिको बैठकमा मन्त्री कुमारीले दीर्घकालीन समाधानका लागि नेपाल आयल निगमकै मातहतमा ग्यास उद्योग स्थापना गर्नुपर्ने धारणा राख्नुभयो। हाल रहेका ५८ वटा ग्यास उद्योग देशको आवश्यकताभन्दा बढी रहेको उल्लेख गर्दै उहाँले सीमित र व्यवस्थित उद्योगमार्फत आपूर्ति व्यवस्थापन गर्नुपर्ने बताउनुभयो।
मन्त्री कुमारीले ग्यास उद्योगहरूले निगमलाई आवश्यक सहयोग नगरेको र कर्मचारीतन्त्रबाट समेत कानुन निर्माण तथा संशोधनमा असहयोग भएको गुनासो गर्नुभयो। ग्यास आपूर्ति संकट तत्काल समाधान गर्दै दीर्घकालीन रूपमा प्रभावकारी आपूर्ति प्रणाली विकास गर्नुपर्ने आवश्यकता बैठकमा औँल्याइएको छ।










