लन्डन । कर्णाली समाज यूकेले परदेशी जीवनका चुनौती र मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले एक विशेष मोटिभेसनल तथा मानसिक स्वास्थ्य सेमिनार आयोजना गर्ने भएको छ। विदेशमा बसोबास गरिरहेका लाखौँ नेपालीहरूको दैनिकीसँग जोडिएको मानसिक स्वास्थ्य आज अत्यन्तै संवेदनशील र महत्वपूर्ण विषय बन्दै गएको सन्दर्भमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो।

परिवार, संस्कार, सामाजिक सहारा र आत्मीयताबाट टाढा रहँदा परदेशी जीवनले धेरै नेपालीलाई मानसिक रूपमा कमजोर बनाइरहेको यथार्थलाई मध्यनजर गर्दै सेमिनारमा डिप्रेशन (Depression), एक्लोपन (Loneliness), तनाव व्यवस्थापन (Stress Management), जीवन व्यवस्थापन (Life Management), माइन्डफुलनेस (Mindfulness) र आर्ट अफ लिभिङ (Art of Living) जस्ता विषयहरू समेटिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार जीवनका कठिनाइहरू अन्त्य होइनन्, आत्म–विकासका अवसर हुन् भन्ने सकारात्मक सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। “हामी सँगै सिकौँ, सँगै बढौँ र सँगै मानसिक रूपमा बलियो बनौँ” भन्ने मूल नारासहित सञ्चालन हुने उक्त सेमिनार करिब दुई घण्टा लामो हुनेछ।
सेमिनार विशेष गरी परदेशमा बसोबास गर्ने नेपालीहरूलाई लक्षित भए पनि नेपालमा रहेका व्यक्तिहरूका लागि पनि समान रूपमा उपयोगी हुने आयोजकको विश्वास छ। मानसिक स्वास्थ्य कमजोर हुँदा कहिलेकाहीँ गम्भीर दुर्घटनासम्म निम्तिन सक्ने भएकाले समयमै सचेत हुनुपर्नेमा आयोजकले जोड दिएका छन्।
“स्वास्थ्यभन्दा ठूलो कुनै धन हुँदैन,” भन्दै कर्णाली समाज यूकेले सबैलाई समय निकालेर कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ। सेमिनारमा सहभागी हुन चाहनेहरूले कर्णाली समाज यूकेको आधिकारिक फेसबुक पेजमार्फत सम्पर्क गर्न सक्ने जानकारी पनि दिइएको छ।
कर्णाली समाज यूकेका अध्यक्ष जिवन बहादुर शाहीका अनुसार यस कार्यक्रमबाट बेलायत र नेपाल गरी ५०० जनाभन्दा बढी व्यक्तिहरूले प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ।






