लण्डन । बेलायतमा क्रियाशील कर्णली समाज यूकेले परदेशी जीवनका चुनौती र मानसिक स्वास्थ्यसम्बन्धी सचेतना बढाउने उद्देश्यले एक विशेष मोटिभेसनल तथा मानसिक स्वास्थ्य सेमिनार आयोजना गर्ने भएको छ।

विदेशी भूमिमा बसोबास गरिरहेका लाखौँ नेपालीहरूका लागि मानसिक स्वास्थ्य (Mental Health) पछिल्लो समय अत्यन्तै संवेदनशील र महत्वपूर्ण विषय बनेको छ। परिवार, संस्कार, सामाजिक सहारा र आत्मीयताबाट टाढा रहँदा परदेशी जीवनले धेरै नेपालीलाई मानसिक रूपमा कमजोर बनाइरहेको यथार्थ सर्वविदित छ। यही अवस्थालाई ध्यानमा राख्दै कर्णली समाज यूकेले मानसिक स्वास्थ्यसम्बन्धी ज्ञान, व्यवहारिक सीप र सकारात्मक सोच विकास गराउने उद्देश्यसहित कार्यक्रम ल्याएको जनाएको छ।
आयोजकका अनुसार सेमिनारमा डिप्रेशन (Depression), एक्लोपन (Loneliness), तनाव व्यवस्थापन (Stress Management), जीवन व्यवस्थापन (Life Management), माइन्डफुलनेस (Mindfulness) तथा आर्ट अफ लिभिङ (Art of Living) जस्ता विषयहरू समेटेर छलफल तथा प्रेरणादायी प्रस्तुति हुनेछ। कार्यक्रम करिब २ घण्टा लामो रहने जनाइएको छ।
सेमिनार परदेशमा बसोबास गर्ने नेपालीहरूलाई मुख्य रूपमा लक्षित गरिएको भए पनि नेपालमा रहेका व्यक्तिहरूका लागि पनि समान रूपमा लाभदायक हुने आयोजकको भनाइ छ। मानसिक स्वास्थ्यमा समस्या बढ्दै जाँदा त्यसले व्यक्ति, परिवार र समुदायसम्ममा नकारात्मक प्रभाव पार्ने र कहिलेकाहीँ गम्भीर दुर्घटनासम्म निम्त्याउन सक्ने भएकाले समयमै सचेतना र सहयोग आवश्यक रहेको आयोजकले बताएका छन्।
कर्णली समाज यूकेका अध्यक्ष जिबन बी. शाहीका अनुसार उक्त सेमिनारबाट बेलायत र नेपाल गरी ५०० भन्दा बढी व्यक्तिहरू लाभान्वित हुने अपेक्षा गरिएको छ। “स्वास्थ्यभन्दा ठूलो कुनै धन हुँदैन,” भन्दै उनले सबैलाई समय निकालेर कार्यक्रममा सहभागी हुन अनुरोध गरे।
सेमिनारमा सहभागी हुन चाहनेहरूले कर्णली समाज यूकेको फेसबुक पेजमार्फत सम्पर्क गर्न सक्ने जानकारी पनि आयोजकले दिएका छन्।







shahipaban45@gmail.com