अनुराग महतो/यूएई । थारु कल्याणकारिणी सभा यूएईद्वारा आयोजित १२औँ वार्षिक भेला तथा माघी पर्व एवं थारु नयाँ वर्ष २६४९ विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।

“थारु कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान” भन्ने मूल नाराका साथ स्थापना गरिएको संस्थाले प्रवासमा रहेर पनि थारु समुदायको मौलिक धर्म, संस्कार, परम्परा र संस्कृतिको जगेर्ना गर्ने प्रतिबद्धतालाई निरन्तरता दिँदै यो कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमका संयोजक महेश चौधरीले माघी पर्वको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे प्रकाश पार्दै उपस्थित सबैलाई स्वागत गरे। प्रमुख अतिथि भागीरथी कुमार भगतले थारु भाषा, कला र संस्कृतिको संरक्षण नगरे समुदायको पहिचान नै संकटमा पर्न सक्ने उल्लेख गर्दै यसको जगेर्नामा सबै एकजुट हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित गायक खेम चौधरीको विशेष सांगीतिक प्रस्तुति रहेको थियो। साथै लोकप्रिय गायक तथा कार्यक्रम प्रस्तोता केशव राज महतोको साथमा कृष्ण गुंजन, श्याम सिटी लगायत स्थानीय कलाकारहरूले आकर्षक प्रस्तुति प्रस्तुत गरेका थिए।
अष्टोरिया होटलस्थित क्लब एभरेष्टको हलमा सम्पन्न कार्यक्रममा नेफिन यूएईका अध्यक्ष भागीरथी कुमार भगत प्रमुख अतिथिका रूपमा सहभागी थिए भने कार्यक्रम रामानन्द चौधरीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा यूएईस्थित विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन केशव राज महतो र दिव्या कुमारी महतोले गरेका थिए।
सांस्कृतिक भेषभूषा, कला, संस्कृति तथा मौलिक पहिचान झल्काउने माघी पर्व ( खिचरी, तिला संक्रान्ति, तिला सकरा, खिचरा, खिचडी, माघ, माघ लहान) लाई भव्य र सफल बनाउन नैतिक, भौतिक तथा आर्थिक सहयोग पुर्याउने सम्पूर्ण अग्रज, बुद्धिजीवी, संस्थाका पदाधिकारी, सदस्य, प्रायोजक तथा यूएईमा पेशागत एवं व्यवसायिक रूपमा आबद्ध दाजुभाइ तथा दिदीबहिनीहरूप्रति आयोजक संस्थाले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।










