लन्डन । बेलायतमा नेपाली कला, संस्कृति, भाषा र मौलिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले आयोजना हुँदै आएको ‘प्रतिभा नक्षत्र’को सातौं संस्करण आगामी आइतबार, १६ अगस्ट २०२६ मा लन्डनमा हुँदैछ। दक्षिण–पूर्वी लन्डनको प्लमस्टेड कमनस्थित ग्रीनविच रग्बी क्लबको मैदानमा आयोजना हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने कार्यक्रममा बाल तथा युवा गरी दुई विधामा बालबालिका र किशोरकिशोरीहरूले आफ्ना विविध प्रतिभा प्रस्तुत गर्नेछन्। यस वर्ष बेलायतसँगै आयरल्यान्ड, जर्मनी, बेल्जियमलगायत युरोपेली मुलुकबाट समेत सहभागी हुने आयोजकले जनाएको छ।
प्रतिभा नक्षत्रकी कोरियोग्राफर रेनुका मगरका अनुसार यसपटक बाल र युवा विधामा गरी जम्मा २५ जना बालबालिका तथा किशोरकिशोरी सहभागी हुँदैछन्। सहभागीहरूले नेपाली मौलिक बाजा बजाउने, गीत, नृत्य, वक्तृत्वकला लगायतका विभिन्न प्रतिभा प्रस्तुत गर्नेछन्।
कार्यक्रमस्थलमा नेपाली कला, संस्कृति, भाषा, भेषभूषा र परम्परा झल्काउने नमुना घर तथा विभिन्न सांस्कृतिक स्टलहरू राखिनेछन्। नमुना नेवारी घर, थारु घर र खस घर लगायतका संरचनासहित नेपाली हस्तकला, गरगहना तथा परम्परागत खानाका स्टल पनि रहनेछन्। त्यसैगरी नौमती बाजा, गीत–संगीत तथा विभिन्न मौलिक सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाउने आयोजकको भनाइ छ।
प्रतिभा नक्षत्रका संस्थापक निर्देशक मध्येका एक लछुमन गुरुङका अनुसार सातौं संस्करणमा नेपाल, आयरल्यान्ड, बेल्जियम र बेलायतबाट गरी पाँच जना निर्णायक सहभागी हुनेछन्। नेपाली भाषा, कला, साहित्य र संगीतलगायतका क्षेत्रमा अनुभव तथा विशेषज्ञता हासिल गरेका व्यक्तित्वहरूलाई निर्णायकका रूपमा चयन गरिएको उनले बताए।
गुरुङका अनुसार प्रतिभा नक्षत्र केवल बालबालिका तथा युवाले आफ्नो प्रतिभा प्रदर्शन गर्ने कार्यक्रम मात्र नभई विदेशमा जन्मिएका तथा हुर्किरहेका नेपाली नयाँ पुस्तामा नेपालप्रतिको प्रेम, अपनत्व र मौलिक पहिचानको भावना विकास गर्ने सांस्कृतिक अभियान पनि हो।
प्रतिभा नक्षत्रकी महासचिव आस्था जोशीले कार्यक्रमले सहभागीलाई ‘मिनी नेपाल’को अनुभूति गराउने बताइन्। नेपाली मौलिक घर, हस्तकला, गरगहना र खानाका स्टलसँगै परम्परागत बाजा तथा सांस्कृतिक प्रस्तुतिले बेलायतमा रहेका नेपाली तथा अन्य समुदायका दर्शकलाई नेपालसँग नजिकबाट परिचित गराउने उनको विश्वास छ।
कार्यक्रमका संरक्षक तथा सातौं संस्करणका संयोजक मनिषकुमार श्रेष्ठले विदेशमा रहेका नेपालीहरूको भावी पुस्तासम्म मौलिक नेपाली पहिचानलाई जोगाइराख्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताए। नेपाली भाषा, कला र संस्कृतिको प्रवर्द्धनका लागि नेपालबाट ल्याइएका हस्तकला तथा विभिन्न घरेलु उत्पादनका साथै साहित्यघर, खेलकुदघर र भान्साघर लगायतका विविध स्टल राखिने उनले जानकारी दिए।
त्यस्तै, कार्यक्रमकी सहसंयोजक शिविरा पुन श्रेष्ठले प्रतिभा नक्षत्र युवाहरूका लागि नेपाली समुदायसँग जोडिने महत्वपूर्ण मञ्च बनेको बताइन्। नेपाली समुदायबाहेक अन्य समुदायलाई समेत नेपाली मौलिक कला र संस्कृतिसँग परिचित गराउने अवसर कार्यक्रमले प्रदान गरेको उनको भनाइ छ।
कार्यक्रमका सञ्चालक मध्येका एक सत्यप्रसाद प्रजापतिले सबैलाई परिवारसहित ‘डे आउट’का रूपमा कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन्। कार्यक्रमले बेलायतमा हुर्किरहेका बालबालिकालाई नेपाली भाषा, कला, संस्कृति र परम्परासँग परिचित हुने अवसर प्रदान गर्ने उनले बताए।
प्रतिभा नक्षत्रकी कार्यवाहक अध्यक्ष विजया दाहाल भण्डारी र संस्थापक अध्यक्ष सिम्मी पुनले बेलायतवासी नेपालीलाई कार्यक्रममा सहभागी भई बालबालिका तथा युवाको प्रतिभा र नेपाली कला–संस्कृति संरक्षणको अभियानलाई प्रोत्साहन गर्न आग्रह गरेका छन्।
कार्यक्रममा बेलायतसँगै युरोपका विभिन्न मुलुकबाट नेपाली समुदाय तथा संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ। विभिन्न आधा दर्जनभन्दा बढी संघसंस्थाको सहकार्यमा कार्यक्रम आयोजना हुँदैछ।
सन् २०१७ देखि निरन्तर सांस्कृतिक अभियान
डायस्पोरामा रहेका नेपाली बालबालिका तथा किशोरकिशोरीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मञ्च प्रदान गर्दै उनीहरूलाई नेपाल र नेपालीपनसँग जोड्ने उद्देश्यले सन् २०१७ मा ‘प्रतिभा नक्षत्र’ अभियान सुरु भएको थियो।
राजेन्द्र खसको परिकल्पना र अवधारणामा सुरु भएको यस अभियानले डायस्पोरामा नेपाली कला, संस्कृति, भाषा, साहित्य, परम्परा तथा समग्र नेपाली पहिचानको प्रवर्द्धन गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने लक्ष्य लिएको छ।
बेलायतमा जन्मिएका र हुर्किरहेका नेपाली बालबालिकालाई आफ्नो जरा, भाषा र सांस्कृतिक पहिचानसँग जोड्ने प्रयासका रूपमा विकसित हुँदै आएको प्रतिभा नक्षत्रको सातौं संस्करणले पनि ‘विदेशमा बसे पनि नेपालीपन नछुटोस्’ भन्ने सन्देशलाई प्राथमिकतामा राखेको छ।










